close

महतगाउँमा सुविधासम्पन्न खेलमैदान निर्माण गरिँदै

महतगाउँमा सुविधासम्पन्न खेलमैदान निर्माण गरिँदै

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– जिल्लाको भूमे गाउँपालिका–६ महतगाउँमा खेलमैदान निर्माण हुने भएको छ । बहुखेल सञ्चालनका लागि भूमे–६ महतमा सुविधासम्पन्न खेलमैदान निर्माण हुने भएको हो ।


आर्थिक वर्ष २०७४/०७५ मा प्रदेश सरकारको १२ लाख रुपैयाँले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएपछि अब खेलमैदान निर्माण अगाडि बढाइने खेलमैदान निर्माण समितिअन्तर्गतको अभिलेख तथा प्रचार–प्रसार विभाग संयोजक कमल बुढाले बताए ।


‘महत गाउँदेखि पश्चिमतर्फ कोइबाङ चौरमा बृहत् खेलमैदान निर्माण गर्दै छौं’, उनले भने । कोइबाङमा २३ घरधुरीको जग्गा रहेको ठाउँमा खेलमैदान बनाउन स्थानीयको जग्गा खरिदका लागि करिब ५० लाख रुपैयाँ रकम जुटाउने काम भइरहेको बुढाले जानकारी दिए ।


बृहत् खेलमैदान निर्माणका लागि कार्यकारी समिति, संरक्षक समिति, सल्लाहकार समिति गठन गरिएको छ । उक्त समिति मातहत रही काम गर्न आर्थिक विभाग, अभिलेख तथा प्रचार–प्रसार विभाग र संवाद समिति विभाग गठन गरी बृहत् खेलमैदान निर्माण गर्न लागिएको छ ।


कार्यकारी, संरक्षक र सल्लाहकार समितिका पदाधिकारीले प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले रकम संकलन गरिरहेका छन् भने अन्य व्यक्तिबाट स्वेच्छिक रकम संकलन भइरहेको प्रचार–प्रसार विभाग संयोजक बुढाले बताए ।


हालसम्म जग्गा खरिदका लागि २ लाख  हाराहारी रकम संकलन भएको आर्थिक विभागले जनाएको छ । बृहत् खेलमैदान निर्माणमा सघाउन स्वेच्छिक दान गर्न समितिले सबैलाई अपिल गरेको छ ।


बहुखेलकुद चलाउन सकिने सुविधासम्पन्न खेलमैदान निर्माण गरेपछि केन्द्रीयदेखि स्थानीय तहसम्म खेलकुद आयोजना गर्न सकिने गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए ।


‘राष्ट्रिय खेलकुद परिषद्बाट बहुवर्षीय २५ करोड रुपैयाँको बजेटमा बृहत् खेलमैदान निर्माण गर्दै छौं । नपुग रकम चन्दादाता र स्थानीयबाट हुने अपेक्षा छ’, अध्यक्ष बुढाले भने ।