close

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्लामा हिमपात, जनजीवन प्रभावित

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लामा यसवर्ष पहिलो पटक हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ भने जनजीवन प्रभावित भएको छ ।


पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात सुरु हुँदा अन्तर जिल्ला पुग्ने हवाइ उडान बिहान प्रभावित भएका छन् ।


हिमपातले जिल्लाको एकमात्रै यातायात सेवा हवाइ जहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालगञ्ज र सुर्खेतबाट हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको छ । हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् ।


हिमपातका कारण चिसो अत्यधिक बढेको छ । यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकाम भन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।


यहाँको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ । हिमपातले बिहानी कक्षा लिँदै आएका कैलाश बोर्डिङ र हिमाली बोर्डिङका विद्यार्थीलाई समस्या बनाएको कैलाश बोर्डिङका प्रधानाध्यापक छवाङ लामाले बताए ।


पहिलो  पटक हिमापात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको सर्केगाड गाउँपालिकाका फागुने महतराले बताए । हिमपातका कारण एक गाउँ बाट अर्काे गाउँसम्मको आवत जावत रोकिएको छ । सदरमुकाममा चहलपहल न्यून छ ।

 

हिमपातका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । एक ठाउँबाट अर्को ठाउँसमेत आवतजावत गर्नलाई समस्या भएको छ ।


जिल्लामा हिमपात भएपछि नाम्खा गाउँपालिकाको लिमीमा थप समस्या भएको छ । लिमीमा एक फिट भन्दाबढी हिउँजमेको नाम्खा गाउँपालिका वडा नम्वर ६ का वडाअध्यक्ष पाल्जोेर तामाङले बताए ।


नियमित परिरहेका हिमपातले शुरु सिमकोटका होटल व्यवसायी र स्थानिय बासिन्दालाई समस्या बनाएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् ।


उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र पानी परिरहेकाले प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीले यहाँका स्थानीयलाई सतर्क रहन आग्रहसमेत गरेका छन् । पश्चिमी भुभागमा सामान्य देखि पूर्ण बदली भएको हुदा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा लगायतका जिल्लाहरुमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।