close

अस्पताल बनाउन रामपुरबासीले गरे जग्गादान

अस्पताल बनाउन रामपुरबासीले गरे जग्गादान

Trulli
ADVERTISEMENT

ओखलढुंगा - ओखलढुंगाको मोलुङ गाउँपालिकाले निर्माण गर्न लागेको १५ शैयाको अस्पतालका लागि स्थानीयले निःशुल्क जग्गा दिएका छन् । मोलुङ गाउँपालिका-२ स्थित रामपुर बजारमा एक करोड ५० लाख मूल्य बराबरको नौ रोपनी जग्गा चार परिवारले निःशुल्क उपलब्ध गराएका हुन् । 


गाउँपालिकाले यसअघि नै अस्पताल निर्माण मोलुङ-२ रामपुरमा गर्ने निर्णय गरिसकेको छ । जग्गा प्राप्त भएपछि अस्पताल निर्माण प्रक्रिया अगाडि बढाइने गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले बताए । यसअघि रामपुरमा स्वास्थ्य चौकी मात्रै छ । 


रामपुर बजार सहरी क्षेत्रका रुपमा विकास हुँदै गएकाले जनसंख्याको अत्यधिक चापसमेत रहेको छ । गाउँपालिकाका सबै वडालाई पायक पर्ने गरी रामपुरमा अस्पताल निर्माण सुरु हुनु सकारात्मक भएको स्थानीय प्रकाश दाहालले बताए ।


उनका अनुसार समाजसेवी राइटरबाजे भनेर चिनिएका गंगाप्रसाद दाहालको स्मृतिमा उनका छोरा तथा नातिले जग्गा उपलब्ध गराएका हुन् । 


गाउँपालिकालाई रमा दाहाल, चतुर्भुज दाहाल, उत्तमकुमार दाहाल र सन्तोष दाहालले मिलेर उपलब्ध गराएको नौ रोपनी जग्गा रजिस्ट्रेसन पास गर्ने प्रक्रियामा छ । गाउँपालिका अध्यक्ष मणिराज राईले अस्पतालका लागि दिन लागेको जग्गा अनुगमन गरेर पास गर्ने प्रक्रिया अघि बढाउन सहजीकरण गरेका थिए । 


‘उपयुक्त जग्गा खोजीमा रहेको गाउँपालिकालाई जग्गादाताहरूले निःशुल्क दिएर स्वास्थ्य क्षेत्रको विकासमा योगदान गरेका छन्’, अध्यक्ष राईले भने, ‘अब चाँडै संघीय सरकारले दिएको अनुदानबाट अस्पताल निर्माण प्रक्रिया सुरु हुन्छ ।’ 


गाउँपालिका केन्द्र प्राप्चा तोकिएपछि असन्तुष्ट रामपुरबासी अस्पताल बन्ने भएपछि भने उत्साहित छन् । संघीय आयोगले केन्द्र प्राप्चा तोकेपछि गाउँपालिका केन्द्र रामपुरमै राख्न उनीहरूले आन्दोलन गर्दै आएका थिए ।