close

महानगरले बनायो राष्ट्रिय विभूति र तुलाधरको शालिक

महानगरले बनायो राष्ट्रिय विभूति र तुलाधरको शालिक

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्रिय विभूति साख्वाः र मानव अधिकार अभियानका अगुवा पद्मरत्न तुलाधर अनावरण गरिएको छ । काठमाडौ महानगरपालिकाले शनिवार राजधानीमा एक कार्यक्रमकाबीच शालिक अनावण गराएको हो ।   


यस अघि पनि महानगरपालिकाले जहाँनिया राणा शासनविरुद्धको लडाइका क्रममा सहादत प्राप्त गरेका चार शहीद (गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री) को सम्झनामा पूर्णकदको शालिक निर्माण गरिसकेको छ ।

 

महानगरपालिकाले उनीहरु चारै जनालाई मृत्युदण्ड दिएको स्थान शोभा भगवती, सिफलस्थित र टेकुमा पूर्णकदको शालिक निर्माण गरेको हो । धर्मभक्तको पुर्ख्यौली टोल झोँछेमा पनि महानगरपालिकाले उनको सम्झनामा धर्मभक्त पार्क र शालिक निर्माण गरेको छ ।


सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर उद्यान’ मा साख्वाः र तुलाधर दुबैको शालिक अनावरण गरे । करीब २० लाखको लगानीमा महेश तुलाधरले निर्माण भएका शालिकको अनावरणपछि सम्वोधन गर्दै मन्त्री श्रेष्ठले महानगरपालिकाका प्रमुख शाक्यको प्रयासमा यस्ता सकारात्मक कामको थालनी भएको भन्दै प्रशंसा गरे ।

 

नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन आन्दोलन गरेको नेपालभाषा मंका खलः नामक संस्थाका अध्यक्षसमेत रहेका तुलाधरलाई तत्कालीन राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिई राष्ट्रिय पञ्चायत भित्रै पञ्चायती व्यवस्था खारेजीको माग गरेको जस पनि जान्छ ।
 


आजभन्दा ११४१ वर्ष अघि ऋणमा डुबेका तत्कालीन नेपाली जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका थिए शंखधर साख्वाःले । इतिहासहरूको अनुमान अनुसार उनी काठमाडौंको लखुतीर्थस्थित बिष्णुमती खोलामा वालुवा चालेर सुन खोजी गर्ने व्यापारी थिए । यो व्यवसायबाट कमाएको पैसाले नै उनले तत्कालीन नेपाली जनताको ऋण चुक्ता गरेको अनुमान गरिन्छ ।


सबै जनता ऋणमुक्त भए पछि देशमा नयाँ युग शुरु भएको संकेत स्वरुप कान्तिपुरका तत्कालीन राजा राघवदेवलाई अनुरोध गरी उनले नयाँ संवत् चलाएका थिए । नेपाली जनताको ऋण चुक्ता गरी नयाँ युग आएको कारणले नयाँ संवतको नाम पनि उनले ‘नेपाल संवत’ नामकरण गरे ।


तत्कालीन समाजमा आफ्नो व्यापार व्यवसाय गर्न छुट्टै कोठी समेत भएका ठूला व्यापारीलाई ‘साखवाल’ भन्ने गरिन्थ्यो । शंखधर पनि त्यस्तो छुट्टै कोठी भएका व्यापारी थिए र त्यसैबाट उनको नामको पछाडि ‘साखवाल’ शब्द जोडिन आएको हो, पछि त्यही साखवालबाट ‘साख्वाः’ बन्न गएको मानिन्छ । उनी काठमाडौं मरुटोलस्थित छ्वासपाखा क्षेत्रमा बस्थे । सोही ठाउँमा उनले एउटा चैत्य पनि निर्माण गरेका थिए जुन अहिलेपनि छ ।

 

नेपालको मानव अधिकार अभियान, भाषा र जातीय समानताको आन्दोलन, २०४६ सालको प्रजातान्त्रिक आन्दोलन र माओवादीले शुरु गरेको हिंसात्मक जनयुद्धलाई वार्ताद्वारा समाधान गर्ने ऐतिहासिक कार्यमा पद्मरत्न तुलाधरको ठूलो योगदान छ ।