close

अवैध रूपमा रातारात बिक्री हुन्छ गिट्टी, बालुवा 

अवैध रूपमा रातारात बिक्री हुन्छ गिट्टी, बालुवा 

Trulli
ADVERTISEMENT

दैलेख - मध्यपहाडी राजमार्ग निर्माण कार्यका लागि भनेर खोलिएको क्रसर उद्योगबाट अवैध रूपमा रातारात गिट्टी, बालुवा बिक्री भएको खुलासा भएको छ ।


कर्णाली राजमार्गमा निर्माण गरिएको आठबीस नगरपालिका- २ सिस्ने बजारको शृंगेश्वर कन्स्ट्रक्सन प्रा.लि. क्रसर उद्योगले धुलो र ध्वनि प्रदूषण गरेको, लुकिछिपी गिट्टी, बालुवा अन्यत्र बिक्री गर्ने गरेको, विद्यालयमा विद्यार्थीहरूको पठनपाठनमा समस्या उत्पन्न गराएको स्थानीयले गुनासो गरेपछि दैलेखमा निर्माण सुरु गरिएको मध्यपहाडी राजमार्ग निर्माण कार्यका लागि भनेर संचालन गरिएका क्रसर उद्योगहरूको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, प्रहरी प्रमुख अनुपम श्रेष्ठसहितको टोलीले अनुसन्धान गरेको हो ।


दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं.- ६ को पादुका खोलामा संचालन गरिएको क्रसर उद्योगको सम्झौता सकिएको, उद्योगले स्थानीय सरकारसँग कुनै पनि सम्झौता नगरेको खुलेको छ ।


विगत तीन वर्षदेखि संचालन गरिएको क्रसर उद्योगले कुलो निर्माण नगरिदिएपछि ४५ जना किसानहरूको सबै खेत बाँझो र सुख्खामा परिणत भएको भन्दै स्थानीय किसानहरूले प्रमुख जिल्ला अधिकारी सुनारसँग गुनासो गरेका छन् । 


स्थानीयहरूले यहाँ मध्यपहाडी राजमार्गका लागि भनेर क्रसर उद्योग खोलिएको तर रातारात सबैको मिलेमतोमा सुर्खेत, नेपालगन्ज र कालीकोटसम्म बालुवा र गिट्टी बिक्री गरिएको बताए । 


स्थानीयको गुनासो सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी सुनारले भने, ‘दैलेखमा संचालनमा रहेका दुईवटा क्रसर उद्योगहरूको सबै विवरण तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय दैलेखमा बुझाउन माग गरेका छौँ । स्थलगत अध्ययन पनि गरेका छौँ । कानुनविपरीत भेटिएमा सबैलाई कारवाही गर्छौं ।’ 


धुलो र ध्वनि प्रदूषण नियन्त्रण गर्न कम्पनीले अपनाउनुपर्ने सावधानी अपनाउन प्रमुख जिल्ला अधिकारी सुनारले कम्पनीलाई निर्देशन दिएका छन् ।


क्रसर उद्योग संचालकहरूले भने आफूहरूले सडकका लागि आवश्यक पर्ने परिमाणहरूको मापन गरेर मात्र काम गरेको, स्थानीयलाई रोजगारी प्रदान गरेको र बाहिर बिक्री, वितरण नगरेको बताएका छन् ।


दैलेखमा मध्यपहाडी राजमार्ग निर्माणका लागि भन्दै दुईवटा क्रसर उद्योगहरू संचालनमा रहेका छन् भने अन्य दुईवटा पुनः संचालनको तयारीमा छन् । क्रसर उद्योग संचालनका लागि अनुमति पाएका उद्योगहरूले नियमविपरीत डोजर लगाएर खोलाबाट ढुंगा, गुट्टी र बालुवा उठाउने काम बढ्दै गएपछि खोलाको बहावसमेत परिवर्तन भएको स्थानीयहरूको गुनासो छ ।


गत २५ कात्तिकको मन्त्रिपरिषद् बैठकले ७७ वटै जिल्लामा संचालित अवैध क्रसर उद्योग बन्द गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको थियो । 


भौतिक पूर्वाधार कार्यालय दैलेखका प्रमुख बलदीप शर्मा, उद्योग कार्यालय दैलेखका प्रमुख पर्शुराम काफ्ले, जिल्ला वन कार्यालय दैलेखका होमकुमारी न्यौपाने, मालपोत कार्यालय दैलेखका प्रमुख बालकृष्ण राना, नापी कार्यालय दैलेखका प्रमुख एकेन्द्रबहादुर खड्कालगायतको अनुगमन टोलिले क्रसर उद्योगहरूले जम्मा गरेको ढुंगा, गिट्टी बालुवाको मात्राको मापन गरेको छ ।  


मध्यपहाडी राजमार्गका लागि मात्र भनेर उद्योग संचालन गरिएकाले अन्यत्र बिक्री गर्न अवैध हुने र त्यसो भएमा जनताले प्रहरी र प्रशासनलाई खबर गर्न प्रमुख जिल्ला अधिकारी सुनारले सुझाव दिएका छन् ।