close

अध्यक्षले प्रहरीलाई सोलार दिए, उपाध्यक्ष रिसाइन्

अध्यक्षले प्रहरीलाई सोलार दिए, उपाध्यक्ष रिसाइन्

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय हुम्लालाई सोलार सहयोग गरेको छ । गाउँपालिकाले मंगलबार बिहान साढे एक किलोवाट क्षमताको सोलार सहयोग गरेको हो ।

 
जिल्ला सदरमुकाम सिमकोटमा मंसिर पहिलो सातादेखि दैनिक नौ घण्टाभन्दा बढी लोडसेडिङ हुन थालेपछि काम गर्न समस्या भएकाले उक्त सामग्री सहयोग गरिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।

 
मंगलबार बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीलाई उक्त सोलार हस्तान्तरण गरेका हुन् ।
     

खार्पुनाथ गाउँपालिका उपाध्यक्षले आफू सोलार वितरण कार्यक्रममा सहभागी नभएको तर आफ्नो नाम राखिएको भन्दै असन्तुष्टि जनाएकी छन् । गाउँपालिका अध्यक्ष रावलले उपाध्यक्षसहितका अन्य जनप्रतिनिधिसँग कुनै सल्लाह नगरी मनोमानी एकतर्फी तरिकाले काम गर्दै आएको भन्दै उपाध्यक्ष रूपा शाहीले असन्तुष्टि व्यक्त गरेकी हुन् ।


गाउँपालिका अध्यक्ष रावलले आफ्नो घरको सम्पति दिए जसरी एकतर्फी गाउँपालिकाका कामकाज चलाएको भन्दै उपाध्यक्ष शाहीले आरोपसमेत लगाएकी छन् ।
    

खार्पुनाथ गाउँपालिकाले मंगलबार बिहान सोलार प्यानल चार, व्याट्री चार र इन्भर्टर एक थानसहितका विद्युतीय सामग्री सहयोग गरेको खार्पुनाथ गाउँपालिकाले जानकारी दिएको छ ।