close

प्राधिकरण भन्छ: हल्ला हो, तर मुगुमा हुन्छ दैनिक ६ घण्टा लोडसेडिङ

प्राधिकरण भन्छ: हल्ला हो, तर मुगुमा हुन्छ दैनिक ६ घण्टा लोडसेडिङ

Trulli
ADVERTISEMENT

मुगु– मुगुको सदरमुकाम गमगढी बजारमा दैनिक ६ घण्टा लोडसेडिङ भइरहेको छ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङकाे हल्लामात्र चलाइएकाे दावी गरिरहेका बेला गतिलोसँग बत्ती नआउने, आए पनि झ्यापझ्याप हुने हुँदा यतिबेला गमगढीवासीसहितका जिल्लावासीलाई समस्या भएको छ ।


यति लामो लोडसेडिङ हुँदा यहाँका नागरिक विद्युत सेवाबाट टाढा रहेको स्थानीयको भनाइ छ । करिब ९ महिनासम्म बन्द रहेका विद्यालयहरू बल्लतल्ल खुलेपछि पठनपाठनमा समस्या आएको विद्यार्थीले बताएका छन् ।


‘परीक्षा पनि नजिक आउन लाग्यो, कसरी पढ्ने ? कसरी परीक्षा दिने ? बत्तीले पनि गतिलोसँग काम गर्दैन’, महाकाली माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा कामना सावदले भनिन्, ‘यसले गर्दा थप चुनौती भएको छ ।’


उनका अनुसार बत्ती नआएपछि विद्यालयमा पढेका कुराहरूलाई घरमा एक पटक पनि अध्ययन गर्न पाएका छैनन् विद्यार्थीले । उनले भनिन्, ‘थप अध्ययन गर्न ट्युसन पढ्न जान्छु । कक्षा कोठामा बत्ती हुँदैन । मोबाइलको बत्ती बालेर पढिरहेका छौँ ।’


यता, नेपाल विद्युत प्राधिकरण गमगढी वितरण केन्द्र मुगुका हंसबहादुर खत्री भने यो चिसो समयमा सदरमुकामलगायत अन्य स्थानहरूमा विद्युतीय हिटरलगायत अन्य उपकरणहरू जडान गरेपछि विद्युतको क्षमताले नधानेर लोडसेडिङ गर्नु परेको बताउँछन् ।

 
वितरण केन्द्रमा २ वटा स्थानमा ट्रान्समिटर राखिएको छ । तिनै ट्रान्समिटरले यो चिसो समयमा काम नगरेका र पालोअनुसार विद्युत सेवा प्रवाह गरिरहेको खत्रीले जानकारी दिए ।  


यस्तै, दैनिक ६ घण्टा लोडसेडिङले जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा व्यापार व्यवसायसमेत प्रभावित बनाएको छ । दिनमा प्रायः लोडसेडिङ हुन थालेपछि गमगढीमा दाउराको माग पनि बढेको छ ।