close

रुकुम पश्चिममा गाडी भाडाः एक किलोमिटरको ८ रुपैयाँ

रुकुम पश्चिममा गाडी भाडाः एक किलोमिटरको ८ रुपैयाँ

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम– रुकुम पश्चिमका आन्तरिक रुटमा चल्ने सवारी साधनको भाडा हेरफेर गरिएको छ । शुक्रबार बसेको यातायतसम्बन्धी बैठकले जिल्लाभित्रका विभिन्न रुटमा चल्ने यात्रुवाहक सवारी साधनको भाडादर हेरफेर गरेको हो ।

 

गत ८ मंसिरमा भएको यातायात व्यवस्थापनसम्बन्धी बैठकले गरेको निर्णयबाट गठित कार्यदलको सिफारिसअनुसार भाडादर पुनरावलोकन गरिएको छ ।

 

बैठकबाट गठित कार्यदलले नयाँ बाटो निर्धारण तथा भाडा पुनरावलोकनका लागि अख्तियारी पाएको थियो । बैठकले १ माघदेखि लागू हुने गरी नयाँ भाडादर कायम गरेको हो ।

 

क, ख र ग वर्गको रुटमा चल्ने सवारीसाधनका लागि छुट्टाछुट्टै भाडादर कायम गरिएको छ । क वर्गको रुटमा प्रतिकिलोमिटर ४, ख वर्गकोमा ७ र ग वर्गको प्रतिकिलोमिटर ८ रुपैयाँका दरले भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।

 

गाडीभाडामा मनपरी भएको जिल्लाबासीको गुनासोपछि भाडादर पुनरावलोकन कार्यदल बनाइएको प्रजिअ गैरेले बताए ।

 

गत २४ मंसिरको बैठकले यातायात व्यवसायी तथा सरोकारवाला सबैको सहभागितामा नयाँ बाटो निर्धारण तथा भाडादर पुनरावलोकन कार्यदल गठन गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनको संयोजकत्वमा प्राविधिक, प्रहरी, ट्राफिक प्रहरी, सडक, यातायात कार्यालयका प्रतिनिधि तथा यातायात व्यवसायीका प्रतिनिधि सम्मिलित कार्यदल बनेको थियो ।

 

१ माघदेखि कार्यान्वयनमा ल्याउन लागिएको नयाँ भाडादरबाट सर्वसाधारणले राहत पाउनेछन् । यसअघि ४ सय रुपैयाँ भाडा लाग्ने ठाउँमा अब २ सय रुपैयाँभन्दा कममै यात्रा गर्न सकिने गरी नयाँ भाडादर कायम भएको छ ।

 

सरोकारवाला सम्मिलित कार्यदलको सिफारिसअनुसार भाडादर कायम भएको र कार्यान्वयनमा पनि सबैको सहयोग आवश्यक हुने प्रजिअ गैरेको अपेक्षा छ ।

 

बैठकले जिल्लामा कुनै पनि सिन्डिकेट लागू नगरिने निर्णय पनि गरेको छ । नयाँ रुटमा यातायात चलाउनुपर्ने अवस्था आए १ महिनाअघि रुट परमिट ल्याउनुपर्ने र कानुनी प्रक्रिया पूरा गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।