close

रानी पोखरीको गल्ती कमलपोखरीमा दोहोरिदै, मौलिकता हराउने चिन्ता

रानी पोखरीको गल्ती कमलपोखरीमा दोहोरिदै, मौलिकता हराउने चिन्ता

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको मस्तिष्कमा मौलिकता भन्दा आधुनिकताले जरा गाडेको छ ।  यसको ज्वलन्त उदाहरण हुन्– राजधानीको मुटुमा रहेका रानीपोखरी र कमलपोखरी ।  


सर्वत्र विवाद र विरोधपछि रानीपोखरीबाट हट्नुपरेको पीडा मस्तिष्कमा ताजै भएर होला, उनी धोको पूरा गर्न कमलपोखरीतर्फ जाइलागेका छन् ।


ऐतिहासिक रानीपोखरीलाई प्रमुख शाक्यले स्विमिङ पुल बनाउँदै किनारामा आधुिनक पार्क, बगैँचा र कफी सप बनाउने तयारीमा थिए । सम्पदा अभियन्ता संस्कृतिविद् र स्थानीयको व्यापक विरोधपछि प्रमुख शाक्य पछि हट्न बाध्य भएका थिए । अहिले रानीपोखरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैँले पुरानै शैलीमा सिँगारेको छ ।


ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको रानीपोखरी २०७२ सालमा भूकम्पले भत्कायो । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २ माघ २०७२ मा रानीपोखरी पुनर्निर्माण कार्य शिलान्यास गरिन् । काम हुँदै गर्दा पोखरीमा डोेजर चल्यो । सम्पदा अभियन्ताहरू काठमाडौं महानगरपालिकाले पोखरीको इतिहास मेटेर ‘स्विमिङ पुल’ बनाउन लागेको भन्दै विरोधमा उत्रिएका थिए ।


नभन्दै त्यही दबाबका कारण विज्ञ बोलाएर परम्परागत पोखरी बनाउने शैली सिकाइयो । भक्तपुरका महिलाहरूलाई बोलाएपछि उनीहरूले पोखरी बनाए । त्यसपछि बल्ल भूकम्प गएको ५ वर्षपछि रानीपोखरी मल्लकालीन स्वरूपमा फर्कियो । महानगरपालिकाले जुन गल्ती रानीपोखरीमा गरेको थियो, त्यही गल्ती फेरि कमलपोखरीमा दोहो¥याएको छ ।


हाल कमलपोखरीमा पुनर्निर्माणको वहानामा पोखरीको पानी सुकाइएको  छ  ।  ढुंगा, सिमेन्टको प्रयोग गरेर पोखरीको पुनर्निर्माणको काम भइरहेको छ । त्यसमा सम्पदा अभियन्ताहरूले भने विरोध गरिरहेका छन् । काठमाडौं महानगरले प्राकृतिक तथा ऐतिहासिक पोखरीको अस्तित्व समाप्त गरेको सम्पदा अभियन्ता सञ्जय अधिकारीले बताए ।


यस्तो बन्दै छ कमलपोखरी


महानगरपालिकाले पोखरी निर्माणमा करिब ९ करोड ४६ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । जय धनञ्जयर कँडेल जेभी, रानीबारी काठमाडौंले निर्माण ठेक्का पाएको छ । सम्झौताअनुसार कमलपोखरीको पुनर्निर्माण गत १५ असारमा नै सम्पन्न गर्नुपर्ने थियो । तर, अहिलेसम्म पनि पोखरी निर्माणले गति लिन सकेको छैन । महानगरपालिकाले पारित गरेको डिजाइनअनुसार पोखरी परिसरमा खुला व्यायाम, ब्याडमिन्टन र बाँस्केटबल कोर्ट रहनेछ ।


सौन्दर्यीकरण गर्न कमलपोखरीको पूर्वी भागमा मूल प्रवेशद्वार बन्ने, पोखरीको चारै कुनामा ४÷४ मिटरको पाटी निर्माण गरिनेछ ।


त्यस्तै, बालबालिकाका लागि खुलापार्क, बिजुली बत्ती जडान र पोखरीका चारै कुनामा कमलका फूल राख्नेलगायत योजना छन् । तर, यस योजनालाई मान्न सम्पदा अभियन्ता तयार छैनन् ।


यस्तो छ पोखरीको इतिहास


कमलपोखरी कति वर्ष पुरानो हो भन्ने यकिन इतिहास अहिलेसम्म भेटिएको छैन । सम्पदा अभियन्ता आलोकसिद्धि भन्छन्, ‘कति वर्ष पुरानो पोखरी हो भन्ने अहिलेसम्म तथ्यगत प्रमाण भेटिएको छैन, हामीले यसको खोजी कार्य पनि गरिरहेका छौँ ।’


पोखरीका लागि आवश्यक पानीको स्रोत त्यहीँ भएकाले यसको प्राकृतिक महत्त्व रहेको उनी बताउँछन् । ‘पोखरी अवलोकन गर्दा अहिलेसम्म पानी सुकेको पाएनौँ । पानी यहीँको स्रोतबाट निस्किन्छ, यस्ता पोखरी मासिनुहुँदैन ।’


नापी विभागका पूर्वप्रमुख राजेन्द्र मरहठ्ठाले बाल्यकालबाटै पोखरीमा कमलको फूल फुलेको देखेको स्मरण गरे । उनले भने, ‘मैले बाल्यकालमा पोखरीमा कमलको फूल फुलेको देखेको थिएँ । पोखरी प्राकृतिक नै हो । २०३२ सालमा म आफैँले पोखरी नापेको हुँ । अहिले भइरहेको निर्माण प्रक्रिया रोकिएन भने अबको विकासले पोखरीको ऐतिहासिकता मासिने पक्का छ ।’


महानगरको छुट्टै दाबी


काठमाडौं महानगरपालिका शहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले कमलपोखरी पुनर्निर्माणमा कंक्रिट प्रयोग नगरिएको बताएका छन् । महानगरपालिका वडा– १ का अध्यक्ष भरतलाल श्रेष्ठ पनि पोखरीको सौन्दर्य परिवर्तन गर्न कंक्रिट प्रयोग हुँदा ऐतिहासिकता नमासिने दाबी गरेका छन् । ढुंगा छापिएको हो, क्रंक्रिटको प्रयोग गरिएको छैन ।


सम्पदाविद्हरूले भने पोखरीको पानी सुकाएर नै सम्पदाको अस्तित्व नष्ट पारेको बताउँदै आएका छन् ।


कमलपोखरीको अतिक्रमण रोक्न प्रमुखलाई थापाको निर्देशन


नेपाली कांग्रेसका नेता गगनकुमार थापाले तत्काल कमलपोखरीको पुनर्निर्माण कार्य रोक्न काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र लेखेका छन् । थापाले पोखरीको प्राकृतिक सिमसार स्वरूप नै नष्ट हुने गरी काम भएको भन्दै काम रोक्न पत्रचार गरेका हुन् ।


‘२०६७ असारदेखि निर्माणाधीन कमलपोखरी निर्माणको  सम्बन्धमा एकातर्फ निर्धारित समयावधिभन्दा धेरै ढिला भएको छ भने अर्कोतर्फ प्राकृतिक सिमसारको स्वरूप नै नष्ट हुने गरी वास्तविक पोखरी साँघुरो बनाउने, कंक्रिट प्रयोग गर्नेजस्ता विभिन्न कार्यहरू भइरहेकाले हाललाई निर्माण कार्य रोक्न आग्रह गर्दछु’, पत्रमा भनिएको छ ।