close

वडाध्यक्ष रनिङ कपको उपाधि देउराली दिल स्मृति क्लबलाई

वडाध्यक्ष रनिङ कपको उपाधि देउराली दिल स्मृति क्लबलाई

Trulli
ADVERTISEMENT

लमजुङ- लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर २ मा आयोजना गरिएको प्रथम वडाध्यक्ष रनिङ कप फुटबल प्रतियोगिताको उपाधि देउराली दिल स्मृति युवा क्लबले हात पारेको छ ।


देउराली दिल स्मृति युवा क्लब ‘ए’ र देउराली दिल स्मृति युवा क्लब ‘बी’ बीचको फाइनल खेलमा २ का विरुद्ध ३ गोल गर्दै देउराली दिल स्मृति युवा क्लब ‘बी’ ले उपाधि जितेको हो ।

 

देउराली ‘बी’ ले उपाधिसँगै नगद १५ हजार, मेडल र प्रमाणपत्रसमेत हात पारेको छ । ए समूहले भने उपविजेतामा चित्त बुझाएको छ । उपविजेताले नगद ८ हजार, मेडल र प्रमाणपत्र हात पारेको छ ।


प्रतियोगितामा विजेता क्लबका खेलाडी अभिषेक श्रेष्ठ सर्वाधिक गोलकर्ता र उपविजेता समूहका कुशल श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई मेडल र प्रमाणपत्र प्रदान गरियो ।


त्यसैगरी ३५ वर्ष उमेर समूहमाथिका लागि सञ्चालन गरिएको टोल स्तरीय मैत्रीपूर्ण प्रतियोगितामा परेवाडाँडा टोल विजयी भएको छ । विजेता समूहलाई कुखुराको भाले प्रदान गरिएको आयोजकले जनाएको छ ।


प्रतियोगिताका विजयीलाई जिल्ला समन्वय समिति लमजुङ प्रमुख लोकराज पाण्डे र वडाध्यक्ष नवीनकुमार श्रेष्ठले पुरस्कार वितरण गरे । 


पुरस्कार वितरण कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख पाण्डेले वडाबाट प्रस्फुटन भएको प्रतिभालाई भोलिका दिनमा राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरको खेल मैदानसम्म पुर्‍याउन सके मात्र खेल प्रतियोगिता सार्थक हुने बताए ।

 

वडामा आयोजना हुने यस्ता प्रतियोगिताले सक्षम खेलाडी उत्पादनमा सहयोग पुग्ने उनको भनाइ छ । 


कोभिडका कारण लामो समयसम्म स्थगित रहेको खेल क्षेत्रलाई विस्तारै लयमा फर्काउन प्रतियोगिताले थप सहज बनाएको वडाध्यक्ष नवीनकुमार श्रेष्ठले बताए ।


गाउँ-गाउँमा खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्न प्रथम वडाध्यक्ष रनिङ कप फुटबल प्रतियोगिता सञ्चालन गरिएको स्मृति युवा क्लबका अध्यक्ष सीताराम न्यौपानेले जानकारी दिए ।


राष्ट्रिय एकता दिवस अवसरमा आयोजना गरिएको प्रतियोगितामा वडा नम्बर २ ले आर्थिक सहयोग गरेको थियो । देउराली खेल मैदानमा भएको प्रतियोगितामा ९ टिम सहभागी थिए ।