close

भक्तपुर नगरको आठौँ नगरसभाः श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालन नियमावली पारित

भक्तपुर नगरको आठौँ नगरसभाः श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालन नियमावली पारित

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाको आठौँ नगरसभाले ‘श्वासप्रश्वास पुनस्र्थापना केन्द्र सञ्चालन नियमावली,२०७७ सर्वसम्मत पारित गरेको छ । नगरप्रमुख सुनिल प्रजापति अध्यक्षताकोे बैठकले उक्त नियमावली पारित गरेको हो ।

 

श्वासप्रश्वास पुनस्र्थापना केन्द्रले दीर्घ दमखोकी भएका व्यक्तिको रोगको निदान र श्वासप्रश्वास पुनस्र्थापना सेवा प्रदान गर्नेछ । दीर्घ दमखोकी भएका व्यक्तिको प्रारम्भिक निदान, उपचार एवं पुनर्स्थापनाका लागि सेवाप्रदायकको क्षमता अभिवृद्धि गर्ने र यसलाई राष्ट्रिय, प्रादेशिक अनि स्थानीय स्तरमा उत्कृष्ट केन्द्र बनाउनेलगायत उद्देश्य भएको सो नियमावलीमा उल्लेख छ ।

 

यो नियमावलीबारेको सभासद्हरू जितेन्द्र मुनकर्मी, श्यामसुन्दर माता, शिवप्रसाद बाला, गोविन्द दुवाललगायतले आ-आफ्ना धारणा राखे । छलफलमा उठेका जिज्ञासामाथि विधायन समिति संयोजक हरिराम सुवालले विधेयकमा देखिएका त्रुटि संशोधन गर्दै यसलाई कार्यान्वयनमा लगिने बताए ।

 

सभामा नगरबासीको समस्या र नगरले गरिरहेका कार्यप्रगतिबारे सभासद्हरू ज्ञानकुमार मगजु, सम्झना खाइजु, शिवप्रसाद बाला, राजेन्द्र माक, इन्द्रबहादुर प्याठ, तुल्सीलक्ष्मी दुमरु, हेरा ख्याजु, सूर्यप्रसाद श्रेष्ठले जिज्ञासा राखेका थिए ।

 

वडामा सफाइ मजदुरको कमी भएको, तरकारी बजार व्यवस्थापनमा पहल गर्नुपर्ने, व्यवस्थित वधशाला निर्माण गर्नुपर्ने, माहेश्वरी खेलमैदानलाई राष्ट्रिय स्तरमा विकास गर्नुपर्ने, इन्द्रायणीको ढुंगेधारा र हाकुफोहिटीको निकास मर्मत गर्नुपर्ने, करको दायरा बढाउनुपर्ने, कृषि विशेषज्ञ व्यवस्था गर्नुपर्ने, चिस्यान केन्द्र स्थापनालगायतमा नगरपालिकाले पहल गर्नुपर्ने सुझाव उनीहरूले दिए । 

 

बैठकमा विधायन समिति संयोजक हरिराम सुवालले भक्तपुर नगरपालिका आदर निकेतन सेवासम्बन्धी विधेयक, २०७७ र शिशु स्याहार तथा बाल विकास केन्द्र सञ्चालन कार्यविधि, २०७७ छलफलका लागि प्रस्तुत गरेका थिए ।