close

चिशंखुगढी वडा नम्बर ५ का वडाध्यक्ष लुटिए

चिशंखुगढी वडा नम्बर ५ का वडाध्यक्ष लुटिए

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश कार्कीले आफूलाई होटलमा थुनेर लुटपाट गरिएको आरोप लगाएका छन् ।

 

वडाध्यक्ष कार्कीले विज्ञप्ति जारी गर्दै आफ्नै पार्टी नेपाली कांग्रेस र नेकपाका गाउँस्तरीय नेतृत्वका ८/९ जनाले पालिका केन्द्रमा रहेको एक होटलमा थुनेर लुटपाट गरेको आरोप लगाएका हुन् ।

 
आफ्ना साथमा रहेको कपडा, २ सेट मोबाइल र ४५ हजार रुपैयाँ नगद लुटिएको भन्दै तत्काल फिर्ता दिन उनले माग गरेका छन् । घटनामा संलग्न व्यक्तिको नाम भने उनले खुलाएका छैनन् । 

 

अध्यक्ष कार्कीले २ र ३ माघ २०७७ मा रविन कार्कीको होटलको कोठामा घेराबन्दी गरी दिनभर बाहिर निस्कन नदिई, सेवाग्राहीलाई सेवा प्रवाह गर्नसमेत रोक लगाई नजरबन्दमा राखेको उल्लेख गरेका छन् । 

 

घटनाबारे नेकपा सेर्ना गाउँ कमिटीले भने विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

जनप्रतिनिधि भएर दैनिक मदिरा सेवन गरेको, जनताको सेवा प्रवाहमा ध्यान नदिएपछि यस्ता गतिविधि नगर्न मौखिक ध्यानाकर्षण गराएको विषय तोडमोड गरेर आफ्नो पार्टीको नाम र कार्यकर्तालाई मुछेर विज्ञप्ति जारी गरेको भन्दै आपत्ति जनाएको हो ।

 

गाउँ पार्टीका अध्यक्ष केशव भट्टराई र इन्चार्ज सीताराम भट्टराईले झुटो र भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै आरोप पुष्टि गर्न चुनौती दिएका छन् । 

 

वडाध्यक्षले पार्टीको नाम जोडर झुटा आरोप लगाएपछि नेकपाले प्रमाणित गर्न चुनौती दिएको जनाएको छ । गाउँपालिका केन्द्रसमेत रहेको सेर्नामा २ पक्षबीचको विवादले द्वन्द्व निम्त्याउने भन्दै सरोकारवालाले निष्पक्ष छानबिनको माग गरेका छन् ।

 

घटनाबारे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले घटना भएको विषय विज्ञप्ति आएपछि मात्रै सुनेको बताए । उनले वडाध्यक्षसँग सम्पर्क नभएको पनि जानकारी दिए ।