close

निर्वाचित पार्टी त्याग्दा वडाध्यक्षकाे पद नै चट !

कांग्रेस छाडेर नेकपा जाँदा पद गुमाउनुपर्‍याे

निर्वाचित पार्टी त्याग्दा वडाध्यक्षकाे पद नै चट !

कांग्रेस छाडेर नेकपा जाँदा पद गुमाउनुपर्‍याे

Trulli
ADVERTISEMENT

इलाम- इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रदीप साङपाङले वडाध्यक्ष पद गुमाएका छन् । साङपाङ निर्वाचित भएको नेपाली कांग्रेस पार्टी परित्याग गरी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (तत्कालीन एमोल) मा प्रवेश गरेकाले वडाध्यक्ष पद गुमाउनुपरेको हो ।

 

निर्वाचन आयोगको ७ माघको बैठकको निर्णयअनुसार ९ माघमा गोरखापत्रमा दल त्याग तथा रिक्तसम्बन्धी प्रकाशित सूचनामा सोही दिनदेखि साङपाङ निर्वचित पद रिक्त भएको आयोगले जानकारी दिएको हो ।

 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ र ३२ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को दफा २२ बमोजिम दल त्याग गरेको बेहोरा कांग्रेस केन्द्रीय समितिको निर्णयसहित आयोगलाई जानकारी आएकाले साङपाङको पद रिक्त भएको सूचनामा उल्लेख छ । 

 

साङपाङ २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्ष बनेका थिए । उनले नेकपा एमालेका उम्मेदवार किरण राईलाई पराजित गरेका थिए । 

 

साङपाङ कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुँदा ४ जना सदस्य भने नेकपा एमालेले जितेको थियो । उनी निर्वाचित भएको १० महिनापछि २१ चैत २०७४ मा एमाले प्रवेश गरेका थिए ।

 

निर्वाचन कार्यालयलाई पद रिक्त भएको पत्र

 

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई माङसेबुङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्षको पद रिक्त भएको जानकारी पत्र पठाएको छ । 

 

माङसेबुङ वडा नम्बर ६ नम्बर वडाध्यक्षको पद खाली भएको जानकारी पत्र कार्यालयलाई प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

यस्तो छ दल त्यागसम्बन्धी कानुनी व्यवस्था

 

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ मा दल त्याग गर्न नहुनेसम्बन्धी व्यवस्थाको उपदफा (१) मा ‘दफा ३० मा जुनसुकै कुरा लेखिएको भए पनि कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसद्को सदस्य, प्रदेशसभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो, त्यस्तो दल त्याग गर्न सक्ने छैन’ भन्ने उल्लेख छ ।

 

सोही दफाको (२) मा उपदफा (१) प्रतिकूल हुने गरी कुनै सदस्यले दल त्याग गरे निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिनेछ भनिएको छ ।

 

ऐनको दफा ३२ मा दल त्याग गरेको मानिने व्यवस्थाको उपदफा (१) (क) मा निजले सम्बन्धित दलको सदस्यबाट लिखित रूपमा राजीनामा दिए, (ख) मा निजले अर्को दलको सदस्यता लिए वा (ग) मा निज आफैंले वा निजसमेत संलग्न भई अर्को दल गठन गरे सदस्यले दल त्याग गरेको मानिनेछ ।

 

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को दफा २२ मा दल त्याग गरेको जानकारी गराउनुपर्ने व्यवस्थाको उपदफा (१) मा ‘कुनै दलको तर्फबाट स्थानीय तहको कुनै पदमा उम्मेदवार भई निर्वाचित भएको सदस्यले ऐनको दफा ३२ को उपदफा (१) बमोजिम दल त्याग हुने कार्य गरे सो दलको केन्द्रीय समितिले निर्णय गरी निजले दल त्याग गरेको बेहोराको जानकारी आयोगलाई गराउनुपर्नेछ । यसरी जानकारी गराउँदा केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ । 

 

उपदफा (२) को उपनियम (२) बमोजिमको जानकारी प्राप्त गरेपछि १५ दिनभित्र आयोगले राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सोको सूचना प्रकाशन गर्नेछ र उपदफा (३) उपनियम (२) मा बमोजिम सूचना प्रकाशन भएपछि स्थानीय तहको त्यस्तो सदस्यको पद स्वतः रिक्त हुने उल्लेख छ ।