close

गल्याङको आठौं नगरसभाः कानुन अनुमोदनदेखि एकीकृत वस्तीसम्मका योजना पारित

गल्याङको आठौं नगरसभाः कानुन अनुमोदनदेखि एकीकृत वस्तीसम्मका योजना पारित

Trulli
ADVERTISEMENT

स्याङ्जा- गल्याङ नगरपालिकाको आठौं नगरसभा सम्पन्न भएको छ । नगरसभामा नगरप्रमुख भुपराज अधिकारीले प्रस्तुत गरेको विभिन्न १३ बुँदे प्रस्ताव सर्वसम्मतले पारित भएको छ । 


नगरसभामा २०७७/०७८ को पुस मसान्तसम्मको नीति कार्यक्रम तथा बजेट कार्यान्वयनको समीक्षा गरी आम्दानी र खर्चको अनुमोदन गरिएको छ । 


यस्तै, चालु आर्थिक वर्षको आर्थिक ऐन २०७७ लाई संशोधन गर्न बनेको आर्थिक ऐन पहिलो संशोधन विधेयक र सार्वजनिक खरिद नियमावली स्वीकृत गरिएको छ ।  यसैगरी, विपन्न नागरिक आवास निर्माण कार्यक्रम, शिक्षा ऐन संशोधन पनि पारित गरिएको छ ।
 

नगरपालिकाको मुख्य बजार क्षेत्रको रुपमा बल्पुक, लल्याङ, गल्कोट, मुडकिल्ला तथा तल्लो गल्याङलाई समेटर बजार क्षेत्र निर्धारण गर्ने तय भएको छ ।


यसैगरी दिमिक, जिमुहा, कर्मचौर लबरकोटदेखि सम्पास सम्मको भागलाई समेटेर एकिकृत धामिर्क नमूना वस्ती निर्माण गर्ने निर्णय पनि पारित भएको छ भने रकमान्तर सम्बन्धि योजनालाई पनि स्वीकृत गरिएको छ ।


नगरवासीलाई बिमाको पहुँचमा पुर्‍याउने र सबै वडाका अति विपन्न परिवारलाई निःशुल्क विमा कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय भएको छ ।

 

नगरसभा सदस्य हेमलाल विकप्रति शोक प्रस्ताव पनि पारित गरिएको छ । नगरसभाका एजेण्डा प्रस्तुत गर्दै नगरप्रमुख अधिकारीले पछिल्लो ६ महिनामा नगरपालिका ३४ दशमलब ८८ प्रतिशत बजेट खर्च भएको जानकारी दिए । 


उनले कोरोना संक्रमणका कारण संघबाट नै बजेट कटौती भएको भन्दै सीमित बजेटबाट अधिकतम काम गर्नुपरेको बताए ।

 

उनले नगरपालिका भित्रका विपन्न परिवारका लागि आवास निर्माणको प्रक्रिया निरन्तर हुने पनि बताए । नगरप्रमुख अधिकारीले नगरपालिकामा खानेपानीका ठूला आयोजना सञ्चालन तथा बाटो निर्माण तिब्र गतिमा भइरहेको जानकारी दिदै कृषि क्षेत्रमा पनि महत्वपूर्ण कामहरु अघि वढेको बताए । 


नगरसभामा नगरपालिकाका १६ जना उत्कृष्ट कर्मचारीहरुलाई दोसल्ला, सम्मान पत्र र नगद सहित सम्मान पनि गरिएको छ ।