close

सेनाका महतरालाई व्यास अल्ट्रा म्याराथन उपाधि

सेनाका महतरालाई व्यास अल्ट्रा म्याराथन उपाधि

Trulli
ADVERTISEMENT

तनहुँ- व्यास अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले चुमेका छन् । सहिद दिवस अवसरमा शुक्रबार व्यास नगरपालिकाले आयोजना गरेको चौथो संस्करणको म्याराथनको निर्धारित दूरी ३ घन्टा ३ मिनेट ५१ सेकेन्डमा पार गर्दै उनले उपाधि चुमेका हुन् । उपाधिसँगै उनले ८५ हजार ७७ रुपैयाँ हात पारे । 

 

कालीकोटका महतरा तेस्रो संस्करणको म्याराथनमा दोस्रो भएका थिए । उनी गत २७ पुसमा तनहुँकै ऋषिङ गाउँपालिकाले आयोजना गरेको प्रथम ऋषिङ म्याराथनमा सान्त्वना स्थान हासिल गरेका धावक हुन् ।


सोलुका सुमन कुलुङ राई ३ घन्टा ८ मिनेट १ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भए । उनी गत वर्षको उपाधि विजेतासमेत हुन् । गत वर्ष उनले २ घन्टा ५९ मिनेटमा उक्त दूरी पार गरेका थिए । 


त्रिभुवन आर्मी क्लबमा आबद्ध रामेछापका वेदबहादुर सुनुवार ३ घन्टा १० मिनेट ५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भए । यी २ जनाले क्रमशः ६५ हजार ७७ र ५५ हजार ७७ रुपैयाँ पाएका छन् । पहिलो, दोस्रो र तेस्रो पुरस्कार राशि गत वर्षको तुलनामा ४ हजार एक रुपैयाँले बढेको हो ।

 

भोजपुरका सविन तामाङ, बैतडीका नरेन्द्रसिंह रावत, रुकुमका दुर्गाराज बुढा, तनहुँ व्यासका प्रमिश गुरुङलगायतले सान्त्वना स्थान प्राप्त गरी जनही १६ हजार ७७ रुपैयाँ पाए ।


व्यास नगरपालिका वडा नम्बर ५ मानहुँकोटदेखि वडा नम्बर ८ पुलिमराङसम्म ४४ किलोमिटर दूरी कायम गरिएको थियो । म्याराथन मानहुँकोटको सिद्धमार्ग, दमौली, कलेस्ती, बगुवा, रिस्ती हँुदै पुलिमराङ पुगेर टुगिंएको हो ।