close

बेंसीसहरलाई हरियाली बनाउँदै नेपाली सेना : १५ हजार बढी बिरुवा रोपिए

बेंसीसहरलाई हरियाली बनाउँदै नेपाली सेना : १५ हजार बढी बिरुवा रोपिए

Trulli
ADVERTISEMENT

लमजुङ- नेपाली सेनाले लमजुङको बेंसीसहर नगरपालिकाका विभिन्न ठाउँमा १५ हजार ७ सय ५० बिरुवा रोपेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको बेंसीसहर नगरपालिका वडा नम्बर २ श्रीस्वाँरामा प्रस्तावित ब्यारेक पुगेर वृक्षारोपण कार्यको सुरुआत गरे । सेनापति थापाले एभोकाडोको बिरुवा रोपेर अभियान सुरु गरेका हुन् ।


सेनाको सहयोगमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ जिल्ला अस्पतालको प्रांगणमा वृक्षारोपण गरे । यस्तै, सेनापति थापाले बेंसीसहर वडा नम्बर २ कै उत्तरधारा, जल्केनी सामुदायिक वन, नरुवल मगरगाउँ साथै बगालेगाउँस्थित निर्माणाधीन नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमा वृक्षरोपण गरे ।

 

निर्माणाधीन ब्यारेक र तालिम केन्द्र वरपर सेनाले वृक्षारोपण गरेको श्रीजंग गण लमजुङका गणपति प्रमुख सेनानी कर्णेल जयराम थापाले बताए । सेनाले समुदायसँगको समन्वय र सहभागितामा वृक्षारोपण गरेको हो ।

 

फलफूल र अन्य गरी २० प्रकारका बिरुवा रोपिएको कर्णेल थापाले जानकारी दिए । फलफूलका मात्रै १५ प्रकारको बिरुवा रोपिएको छ । बेंसीसहर नगरपालिकाको वडा नम्बर २, ३, ८ र ९ का सार्वजनिक तथा सामुदायिक क्षेत्रमा वृक्षारोपण गरिएको हो ।


वृक्षारोपण कार्यक्रमले प्रकृतिको संरक्षण, फलफूल खेती साथै व्यावसायिक कृषिबाट समृद्धि हासिल गर्न सहयोग पुग्नेछ । बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले फलफूल र बहुपयोगी वृक्षारोपणले सुन्दर नगर बनाउने अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

सेनाले धनकुटा, कोसी टप्पु, म्याग्दी र गोरखाको पालुङटारबाट बिरुवा ल्याएर वृक्षारोपण गरेको हो । कर्णेल थापाका अनुसार सेनाले १३ दशमलव ५५ वर्गकिलोमिटर क्षेत्रफलमा वृक्षारोपण गरेको छ । सेनाले ९ वटा सार्वजनिक स्थान, ४ वटा सामुदायिक स्थान र सेनाको आफ्नै २ वटा स्थानमा वृक्षारोपण गरेको छ । 

 

सेनाको सहभागितामा चिसापानी, काफलस्वाँरा, नरुवल, गैरी, तालफाँट, बोहराबेंसी, भकुन्डे, सिम्ले, झप्रिखेत, गाउँसहर दरबार, बेंसीसहरको कर्पुरेश्वर मन्दिर, मलामीचौर, मध्यमर्स्याङ्दीकाे बाँधक्षेत्रलगायतमा वृक्षारोपण गरिएको छ ।

 

एभोकाडो, ओखर, टिमुरको बिरुवा, अम्बा, रुख कटहर, कागती, शितलचिनी (मरिंगा) लगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।