close

कोरोनाविरुद्धको खोपले नगरप्रमुख र अधिकृत बिरामी

कोरोनाविरुद्धको खोपले नगरप्रमुख र अधिकृत बिरामी

Trulli
ADVERTISEMENT

कालीकोट- कोरोनाविरुद्धको खोप लगाएपछि कालीकोटको तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाही र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण चौलागार्इं बिरामी परेका छन् ।

 

देशैभर एकैसाथ कोरोनाविरुद्धको खोप लगाउने अभियानसँगै कालीकोटमा पनि कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र केही जनप्रतिनिधिलाई खोप लगाइएको हो ।

 

बुधबार तिलागुफा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्यकर्मीलाई खोप लगाइएको थियो । खोप लगाएसँगै नगरप्रमुख शाही र अधिकृत चौलगार्इंलाई ज्वरो आएपछि बिहीबार डाकिएको नगर कार्यपालिकाको बैठक स्थगित भएको नगरपालिकाले जनाएको छ ।


नगरप्रमुख शाही र चौलागाईंलाई सामान्य ज्वरो आएको एक स्वास्थ्यकर्मीले बताए । उनले भने, ‘खोप लगाएका सबैलाई ज्वरो छैन । स्वास्थ्य अवस्था कमजोर भएकालाई साइड इफेक्ट गरेको हुन सक्छ ।’


जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई लगाइएको खोपले पनि सामान्य बिरामी परेका थिए । पहिलो दिन जिल्ला अस्पतालका स्वास्थ्यकर्मीबाट सुरु गरिएको खोप अभियान अहिले जिल्लाका ९ वटै स्थानीय तहमा सञ्चालन भइरहेको छ ।

 

जिल्ला स्वास्थ्य सेवा कार्यालयले कोरोना खोपपछि जिल्लामा सामान्य ज्वरो मात्र देखा परेको बताएको छ । अस्पताल भर्ना नै हुने गरी बिरामी देखा नपरेको उसको भनाइ छ ।