close

केआईसिंहमा पुगेको पहिलो बस

केआईसिंहमा पुगेको पहिलो बस

Trulli
ADVERTISEMENT

डडेल्धुरा–  डोटीको केआईसिंह गाउँपालिकामा पहिलो पटक यात्रु बस सञ्चालनमा आएको छ । शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि र सुन्दर सुदूरपश्चिम यातायात प्रालिसँगको सहकार्यमा गाउँपालिकाले बस सञ्चालनमा ल्याएको हो ।

 

यात्रुबहाक बस गाउँपालिको केन्द्र वायलमा पुगेको छ । अबदेखि  दिपायलबाट २२ किलोमिटरको दुरीमा रहेको गाउँपालिकाको केन्द्रसम्म नियमित बस सञ्चालन हुनेछ ।

 

गाउँपालिकाको वडा नं. ४ वायलबाट हरेक दिन बिहान साढे ९ बजे धनगढीसम्मका लागि बस छुट्ने शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिका अध्यक्ष गणेश मलासिले जानकारी दिए ।

 

दैनिक महंगो भाडामा दिपायलसम्म जिपमा यात्रा गर्ने यात्रुहरुले वायलबाट बसमा सिधै धनगढी सम्म यात्रा गर्न पाउने भएका छन् ।  बस सेवा सञ्चालनमा आएपछि केआईसिँहका स्थानीयलाई सहज हुने भएको छ ।

 

बस पुग्दा स्थानीय हर्षित


गाउँपालिकामा पहिलोपटक बस पुग्दा स्थानीय हर्षित भएका छन् । गाउँमा बस पुग्दा स्थानीयहरूले बाजागाजा सहित फूलमाला र अबिरले स्वागत गरेका थिए ।

 

उनीहरूले  कालोपत्रे हुन बाँकी १२ किलोमिटर सडक चाँडै कालोपत्रे हुन सके ढुक्कका साथ यात्रा गर्न पाउने आशा व्यक्त गरे । शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिका अध्यक्ष गणेश मलासीले गाउँपालिकाका अध्यक्षको समन्वयमा नियमित बस सेवा सञ्चालन गरिएको बताए । प्रालिले नाफा मात्रै नहेरेर यात्रुको सेवालाई समेत मध्यनजर गर्दै बस सेवा सञ्चालनमा ल्याएकाले स्थानीयले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

 

मलासिले अझै सडक कच्ची भए पनि डबल कटिङ भएका कारण बस नियमित सञ्चालन गर्न सकिने बताए । सुन्दर सुदूरपश्चिम यातायात प्रालिका वरिष्ठ उपाध्यक्ष गणेश पाण्डेयले आफूहरूले सुदूरपश्चिम लगायत देशैभरीका गाउँगाउँबाट यात्रुहरूलाई सेवा दिदै आएको बताउँदै केआईसिंह गाउँपालिकाबाट पनि नियमित बस सेवा सञ्चालन गरिने बताए ।

 

चुनावको समयमा आफूहरूले गरेको बाचा अनुसार काम गरिरहेका  गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए ।  गाउँपालिकालाई सडक सञ्जालनसँग जोड्ने र नियमित बस सञ्चालन गर्ने कुरा घोषण पत्रमा उल्लेख गरिएको र त्यसै अनुरूप बस सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ ।