close

 १२२ जनाले ज्यान गुमाए, मंगलसेनले के पायो ? 

 १२२ जनाले ज्यान गुमाए, मंगलसेनले के पायो ? 

Trulli
ADVERTISEMENT

अछाम– अछाम सदरमुकाम आक्रमण भएको मंगलबार १८ वर्ष पूरा भएको छ । सश्स्त्र द्वन्द्वका बेला अछाममा भएको यो सबैभन्दा ठूलो आक्रमण हो । 

 

४ फागुन २०५८ मा राती जिल्ला सदरमुकाम मंगलसेन र साँफेबगरमा आक्रमण भएको थियो । आक्रमणबाट अछामको ऐतिहासिक मंगलसेन दरबारसहित सम्पूर्ण सरकारी कार्यालय ध्वस्त भएका थिए । 

 

अछाम दरबार ध्वस्त भएको पनि १८ वर्ष पुगिसकेको छ । दरबार पुनर्निर्माण सुरु भएको १४ वर्षसम्म पनि निर्माण कार्य अधुरै छ । १२ वर्षमा त खोलो पनि फर्किन्छ भन्थे तर मंगलसेन दरबार निर्माण सुरु गरिएको १४ वर्ष भइसक्दा पनि पुनर्निर्माण हुन सकेन । 


दरबारलाई पुरानै स्वरूप दिने उद्देश्यले पुनर्निर्माण सुरु भए पनि काम गर्ने जिम्मा पाएको निर्माण व्यवसायीको लापरबाहीले दरबार अझै अधुरो रहेको छ । काठको अभाव देखाउँदै निर्माण कम्पनीद्वारा ढिलासुस्ती भइरहेको छ ।


ध्वस्त अछाम दरबारमा जिल्ला प्रशासन, मालपोत, जिल्ला अदालतलगायत कार्यालय सञ्चालनमा थिए । तर, सदरमुकाम आक्रमणका बेला भने जिल्ला प्रशासनमा मात्र सञ्चालनमा थियो ।

 

अछाम आक्रमणमा तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीको पनि ज्यान गएको थियो । आक्रमणमा उनकी धर्मपत्नीसहित राष्ट्रिय अनुसन्धानका निरीक्षकको पनि ज्यान गएको थियो । तत्कालीन शाही नेपाली सेनाका क्याप्टेनसहित मंगलसेन गुल्म ध्वस्त हुनुका साथै ५३ जनाले ज्यान गुमाएका थिए ।


मंगलसेनमा भएको घटनामा ५९ प्रहरी, २ जना निजामती कर्मचारी र ८ जना सर्वसाधारण गरी १ सय २२ को ज्यान गएको थियो । त्यसै राती साँफेबगरमा पनि आक्रमण भएको थियो । साँफेबगरमा भएको घटनामा विमानस्थलमा सुरक्षा गार्डका रूपमा कार्यरत २७ जना प्रहरीको ज्यान गएको थियो ।  अछाम आक्रमणसँगै ध्वस्त भएको साँफेबगर विमानस्थल भने सञ्चालनमा आएको छ ।


वरिपरि धेरै सरकारी कार्यालय र बीचमा ऐतिहासिक मंगलसेन दरबारले अछाम सदरमुकामको सुन्दर बढाइरहेको हुन्थ्यो । आक्रमणका बेला अछामका सबै सरकारी संरचना नष्ट, ध्वस्त बनाइयो ।

 

राजनीतिक परिवर्तनका लागि लडेको भन्ने तत्कालीन माओवादीले धेरै अछामीले बैंकमा राखेका नगद र गरगहना सबै लुटेको थियो । नागरिकसँग जग्गा भए पनि प्रमाण रहेन । अछाम पूरै तहस–नहस भयो । 

 

पहुँच पुर्‍याउन सक्ने केहीले बैंकमा राखेको नगद र गरगहना फिर्ता पाए पनि कतिपय सर्वसाधारणले अझै फिर्ता पाउन सकेका छैनन् । १८ वर्षअघिको त्यस रातलाई सम्झँदै मंगलसेनबासी अहिले पनि भक्कानिन्छन् ।

 

कुनै बेला संस्कृति र सम्पत्तिको बेग्लै पहिचान बनाएका अछामीका काला दिन त्यही घटनाबाट सुरु भए । अछाम आक्रमण नै अछाम र अछामीको प्रगतिका लागि प्रमुख बाधक बनेको कांग्रेस अछामका सहसचिव एवं प्रवक्ता वेदप्रकाश तिमिल्सेना सुनाउँछन् ।

 

घटनापछि आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा महत्त्व राख्ने अधिकांश मानिस विस्थापित भएर जिल्लाबाहिर गएकाले अछामकोे समृद्धि पछाडि धकेलिएको उनको बुझाइ छ ।


४ फागुन २०५८ राती सबै सुतेका बेला करिब ११ बजेतिर अछाम दरबार, सदरमुकाम मंगलसेन र प्रमुख व्यापारिक केन्द्र साँफेबगरमा माओवादीले आक्रमण गर्दा बम र बारुदका आवाजले रातभर नसुतेरै बिताएको स्थानीय नरबहादुर रावल स्मरण गर्छन् ।

 

‘माओवादी आक्रमणले बाँचिदैन जस्तो लागेको थियो । आक्रमणपछिको बिहान हेर्दा बजारलगायत अन्य ठाउँमा शवहरू यत्रतत्र थिए । सरकारी संरचना नष्ट, ध्वस्त भए । त्यो घटना अछामीका लागि कालो दिन सावित भयो,’ रावल भन्छन् ।

 

२०६३ मा २ वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको दरबारको १४ वर्ष बितिसक्दासमेत निर्माण सम्पन्न नहुनु लाजमर्दो भएको मंगलसेन नगरप्रमुख पदमबहादुर बोहराले बताए ।

 

उनका अनुसार निर्माण कम्पनीले काठ नपाएको बहानामा काममा ढिलाइ गरिरहेको छ । ‘काम गर्ने निर्माण कम्पनीलाई मसँग कारबाही गर्ने अधिकार छैन । सम्बन्धित निकायले भौतिक निर्माणमा ढिलाइ गर्ने कम्पनीलाई कारबाही गर्नुपर्छ,’ बोहराले भने ।


सरकारले द्वन्द्व कालमा ध्वस्त भएका विभिन्न संरचना निर्माण गर्ने नीति बनाएको छ । सोहीअनुरूप मंगलसेन दरबारलाई माओवादी आक्रमणअघिको स्वरूपको झल्को दिने गरी ठेक्का भएको राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले जानकारी दिए ।

 

‘निर्माण कम्पनी, स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालय अछामको रोहबरमा विभिन्न पटक कामलाई निरन्तरता दिन पहल गरियो । तर, दरबार निर्माण अघि बढ्न सकेन,’ कुँवरले भने ।

 

अछाम आक्रमणमा ध्वस्त दरबार राजेन्द्र साउद, तुल्छीदुर्गा, बडीमालिका र कुँवर गरी ५ वटा निर्माण कम्पनीले २ करोड २५ लाख रुपैयाँमा निर्माणको ठेक्का लिएका थिए ।

 

जिल्लाका अन्य सरकारी कार्यालय पुनर्निर्माणमा तोकिएको समय सीमा नाघे जिल्ला पुनर्निर्माण समितिले निर्माण व्यवसायीलाई हर्जना तिराए पनि दरबार राष्ट्रिय महत्त्वको क्षेत्र भएकाले हालसम्म हर्जना भराइएको छैन ।

 

पुरानै संरचनाअनुसार दरबार निर्माण गर्नुपर्ने हुँदा आवश्यक सालको काठ सजिलै उपलब्ध नभएकाले दरबार बनाउन ढिलो भएको निर्माण जिम्मा लिएका साउद कन्स्ट्रक्सनका सञ्चालक जयबहादुर साउदको दाबी छ ।


अछामबाट ठूलो परिमाणमा बर्सेनि सालको काठ जिल्लाबाहिर निकासी भइरहे पनि दरबारका लागि काठ उपलब्ध हुन नसकेको निर्माण व्यवसायीको भनाइप्रति सर्वसाधारण भने शंका व्यक्त गर्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६९ मा निर्माणसम्बन्धी सम्पूर्ण फाइल लिएर अनुसन्धान गरिरहेको छ ।


अछाम सदरमुकाम ध्वस्त भएपछि जिल्ला वर्षौं पछाडि धकेलिएको सर्वसाधारण बताउँछन् । मंगलसेन दरबार झन्डै डेढ सय वर्षअघि मंगलसेनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भई उनका छोरा दलबहादुर शाहको पालामा १९३५ मा सम्पन्न भएको इतिहास छ ।

 

सरकारले २०२९ मा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजार रुपैयाँमा उक्त दरबार किनेको बताइन्छ । योगेन्द्रबहादुरका भाइ तपेन्द्रबहादुर शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसँग दरबार बिक्रीको व्यवस्था मिलाएको बताइन्छ । ३ तले दरबारमा ३० कोठा थिए । २०१८ मा ३३ बाट ७५ जिल्ला हुँदा अछाम छुट्टै जिल्ला भएको हो । पछि जिल्ला सदरमुकाम बयलपाटामा सार्ने निर्णय भए पनि दरबार भएकै कारणले मंगलसेनमै कायम भएको थियो ।