close

३ दिनपछि आमाको दाहसंस्कार, छोरी अझै बेपत्ता

३ दिनपछि आमाको दाहसंस्कार, छोरी अझै बेपत्ता

Trulli
ADVERTISEMENT

दैलेख– दैलेखको आठबिस नगरपालिकाको वडा नम्बर ३ निमाइलका एउटै घरका ५ जनाले २३ फागुनमा कर्णाली नदीमा हाम फाली आत्महत्या गरेको २ दिनपछि पोस्टमार्टम गरी आमा सुखी बडुवालको दाहसंस्कार गरिएको छ । कान्छी छोरी अझै बेपत्ता छन् । 

 

नाबालक छोरा ८ वर्षीया ललित बुढा, १५ वर्षीया छोरी कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव कर्णाली नदीको तीरमै गाडिएको जिल्ला प्रहरी कार्यालय दैलेखका कार्यालय प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । 

 

जिल्ला प्रशासन दैलेखले अछामको जिल्ला प्रशासन कार्यालय, प्रहरी र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयपछि उनीहरूको पोस्टमार्टम अछाम जिल्ला अस्पतालमा गरिएको थियो । 

 

घटना छानबिन गर्न पुगे प्रहरी प्रमुख निमायल 


घटनाको सत्यतथ्य छानबिन गर्न दैलेखको आठबिस नगरपालिका पुगेको दैलेखका प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । एकै परिवारका ५ जनाले सामूहिक रूपमा कर्णालीमा हाम फालेर ज्यान गुमाएपछि घटना निकै गम्भीर भएकाले यसको सत्यतथ्य छानबिन गरिने उनले बताए । बेपत्ता ५ वर्षीया बालिकाको शव खोज्नेदेखि विभिन्न कोणबाट घटना अध्ययनका लागि आठबिस नगरपालिकामै बसेर छानबिन गर्ने उनको भनाइ छ । 

 

‘घटना निकै गम्भीर छ । गरिबीका कारण हो वा घरेलु हिंसाका कारण । अन्य कुन कारणले यस्तो घटना घटेको हो । यसको निष्पक्ष छानबिन गरी घटनामा संलग्न जोकोहीलाई पनि कानुनी दायरमा ल्याउन म आफंै घटनास्थलमा खटिएको छु’ प्रहरी प्रमुख श्रेष्ठले भने ।

 

१ साताभित्रै सत्य कुरा बाहिर ल्याइने उनले दाबी गरे । घटनालगत्तै स्थलगत अध्ययनका लागि पुगेका जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी जिल्ला फर्किएका छन् । प्रहरी र अन्य विभिन्न माध्यामबाट घटनाको अध्ययन सुरु गरिएको उनले बताए ।