close

काँक्री-पुथाउत्तरगंगा सडक दैनिक १० घन्टा बन्द 

काँक्री-पुथाउत्तरगंगा सडक दैनिक १० घन्टा बन्द 

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर २ काँक्री-पुथाउत्तरगंगा गाउँपालिकाअन्तर्गतको सडक खण्ड दैनिक १० घन्टा बन्द गरिएको छ ।

 

सहिद मार्गअन्तर्गत काँक्री-पुथाउत्तरगंगा खण्डमा सडक स्तरोन्नति तथा डबल कटान विस्तार भइरहेकाले दैनिक १० घन्टा बन्द गरेर काम अगाडि बढाइएको हो । 

 

बिहान ६ देखि दिउँसो १२ बजेसम्म र दिउँसो २ देखि साँझ साढे ५ बजेसम्म सवारी रोकेर सडक स्तरोउन्नतिको काम भइरहेको छ । दिउँसो १२ देखि १ बजे १ घन्टा मात्र सवारी साधन सञ्चालनमा आउने गरेका छन् । 

 

सहिद मार्गअन्तर्गतको भूमेको काँक्रीदेखि पुथाउत्तरगंगाको क्युबाङ-तकसेरा-बिर्गुम सडक खण्डमा डबल कटानको काम गरिने भएको छ ।

 

काँक्रीदेखि बिर्गुमसम्म २६ किलोमिटर रहेकामा अहिले काँक्री-रिका लेक सम्मको ९ किलोमिटर सडक खण्डमा डबल कटानको काम भइरहेको निर्माण जिम्मा लिएको सप्तकोसी जलाधार निर्माण कम्पनीका साइड इञ्चार्ज दुर्गाप्रसाद घिमिरेले जानकारी दिए । 

 

काँक्रीदेखि बिर्गुम सम्मको २६ किलोमिटरमा डबल कटान, ग्राभेल, नाली कटान, ग्याविनलगायत सडक पिचको तयारीका लागि ४० करोड रुपैयाँ बजेट रहेको साइड इञ्चार्ज घिमिरेले बताए । उक्त बजेटबाटै पुथाउत्तरगंगाको माथिल्लो क्षेत्रका लागि नयाँ ट्रयाक खोल्ने काम भइरहेको छ ।

 

आउँदो असारमा सकिइसक्नुपर्ने अवधि रहेकामा हालसम्म करिब ४० प्रतिशत मात्र काम भएको साइड इञ्चार्ज घिमिरेको भनाइ छ । कोसी न्यौपाने कम्पनीले ठेक्का पारेकामा उक्त कम्पनीले सप्तकोसी जलाधार निर्माणलाई जिम्मा दिँदा ढिलाइ भएको हो ।

 

सहिद मार्गमा पुथाउत्तरगंगा गाउँपालिका भएर भूमे गाउँपालिका हुँदै रोल्पा, दाङसम्मको दैनिक गाडी चल्ने गरेका छन् ।