close

चट्याङले मृत्यु भएका विद्यार्थीको परिवारलाई लमजुङ प्रशासनको सहयोग

चट्याङले मृत्यु भएका विद्यार्थीको परिवारलाई लमजुङ प्रशासनको सहयोग

Trulli
ADVERTISEMENT

लमजुङ- चट्याङ लागेर मृत्यु भएका लमजुङको क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ४ भुजुङका १८ वर्षीय विनोद विश्वकर्माको परिवारलाई जिल्ला प्रशासन कार्यालय लमजुङले २ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । 

 

भुजुङगाउँस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विश्वकर्माको मंगलबार दिउँसो चट्याङ लागेर मृत्यु भएको थियो ।

 

विद्यालयको छात्राबासमा बस्दै आएका विनोदको मृत्यु भएपछि परिवारमा सान्त्वना दिँदै जिल्ला विपद् व्यवस्थापन समिति लमजुङले राहत दिएको हो ।

 

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार नेपाल सरकारले विपद्मा परेर मृत्यु भए प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने नीतिअनुसार विपद् व्यवस्थापन समितिमार्फत सहयोग गरिएको हो ।

 

शुक्रबार विनोदको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी शर्माले बुबा टीकाराम र आमा जमुना विकलाई रकम हस्तान्तरण गरे । विपद्मा परेका नागरिकको घरदैलोमा पुगेर सहयोग गरेको उनले बताए ।

 

राहत वितरण कार्यक्रममा प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापा, वडाध्यक्ष खिमबहादुर गुरुङलगायत सहभागी थिए । गत मंगलबार दिउँसो ३ बजेर ५० मिनेटमा चट्याङ लागेर गम्भीर घाइते भएका विनोदलाई हेलिकोप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मंगलबार बेलुका निधन भएको थियो ।

 

चट्याङ लागेर गम्भीर घाइते भएका विनोदसँगै पोखरा लगिएका कक्षा १० मै अध्ययनरत १८ वर्षीय छविन्द्र गुरुङको भने उपचार भइरहेको छ । चट्याङले कक्षा १० कै १८ वर्षीय रेशबहादुर गुरुङ, कक्षा ९ मा अध्ययनरत १५ वर्षीय अंशु गुरुङ, कक्षा ९ का मुना गुरुङ, सुककुमारी गुरुङ, रिना गुरुङ, विक्रम गुरुङ, कक्षा १० का सुनील गुरुङ, कक्षा १० का मनबहादुर गुरुङ, शिक्षिकाहरू पार्वती ढकाल अधिकारी, प्रेमकुमारी गुरुङ घाइते भएका थिए ।

 

क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार गण्डकी प्रदेश सरकार, गाउँपालिका र प्रशासनको सहयोगमा हेलिकोप्टर मगाएर पोखरा पठाइएको हो । गाउँपालिकाले पनि विक परिवारलाई १० हजार रुपैयाँ प्रदान गरेको उनले बताए ।