close

भुजुङको वडा नम्बर ४ लाई क्व्होलासोंथर लिग उपाधि 

भुजुङको वडा नम्बर ४ लाई क्व्होलासोंथर लिग उपाधि 

Trulli
ADVERTISEMENT

लमजुङ– स्मार्ट भिलेज घलेगाउँमा सञ्चालित क्व्होलासोंथर गाउँपालिका फुटबल लिग २०७७ को उपाधि वडा नम्बर ४ भुजुङले हात पारेको छ । 

 

क्व्होलासोंथरको वडा नम्बर ३ घलेगाउँस्थित स्वर्गभूमि रंगशालामा भएको गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल वडा नम्बर ४ भुजुङ र वडा नम्बर ५ सिङ्दीबीच भएको थियो ।

 

खेल अवधिभर १÷१ गोलको बराबरीपछि पेनाल्टी सुटआउट तथा ट्राइब्रेकरमा ६ का विरुद्ध ७ गोल गर्दै भुजुङले उपाधि जितेको हो ।

 

उपाधिसँगै भुजुङले १ लाख रुपैयाँ, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सिङ्दीले ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

 

क्व्होलासोंथर गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । खेल क्षेत्रको विकास र प्रवद्र्धनका लागि हरेक वर्ष लिग सञ्चालन गर्दै आएको समितिका अध्यक्ष गंगाबहादुर घलेले बताए । उनका अनुसार प्रतियोगितामा गाउँपालिकाका ९ वटै वडाका ९ टिम सहभागी थिए ।

 

प्रतियोगितामा उत्कृष्ट खेलाडीमा सिङ्दीका उत्तम गुरुङ, सर्वाधिक गोलकर्तामा भुजुङका बुद्धिबहादुर गुरुङ घोषित भए । बुद्धिबहादुरले खेल अवधिभर ७ गोल गरेका थिए । दुवै जनालाई ५÷५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरियो । अनुशासित टिममा ७ नम्बर वडा भोजे घोषित भयो ।

 

विजयी खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कार वितरण गरे । घलेगाउँमा रहेको खेल मैदान स्तरोन्नतिमा सहयोग गर्ने गुरुङले प्रतिबद्धता जनाए ।

 

क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले पालिकालिगमा राम्रो खेल खेल्ने खेलाडीले जिल्ला, प्रदेशमा पनि अवसर पाउने बताए ।