close

वडाबाटै नागरिकको घरआँगनमै सेवा 

वडाबाटै नागरिकको घरआँगनमै सेवा 

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ ले वडाका नागरिकलाई घरआँगनबाटै सेवा प्रवाह गरिरहेको छ । वडाले एकीकृत घुम्ती शिविरमार्फत वडाका नागरिकलाई घरआँगनबाट सेवा प्रवाह गरिरहेको हो । 

 

भौगोलिक जटिलताका साथै जनताको समस्यालाई लक्षित गरी सेवा प्रवाह गर्ने उद्देश्यले बेलाबेला एकीकृत घुम्ती शिविरमार्फत नागरिकका घरआँगनमै पुगेर सेवा दिइरहेको वडाले जनाएको छ ।

 

यस पटकको शिविरमार्फत ज्येष्ठ नागरिक ७० जना, दलित ज्येष्ठ नागरिक १८ जना, एकल महिला ३६ जना, पूर्ण अशक्त ६ जना, अति अशक्त ७ जना र बालबालिका ३४ जना गरी १६५ जनालाई सामाजिक सुरक्षा भत्ता घरमै पुगेर वितरण गरिएको वडाध्यक्ष जीवन केसीले जानकारी दिए ।

 

यस अवधिमा १३ लाख ५२ हजार ४ सय ७ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष केसीले बताए । 

 

एकीकृत घुम्ती शिविरमा पञ्जिकाधिकारी, स्वास्थ्यकर्मी, कृषि र पशु प्राविधिक टोलीसहित जनप्रतिनिधिले वडाका नागरिकलाई सेवा दिएका हुन् । यसै क्रममा ३५० जनाको स्वास्थ्य परीक्षणसँगै परामर्श दिइएको छ भने १५० जनालाई औषधी वितरण गरिएको छ । 

 

१२५ घरधुरीका ६५० पशुपक्षीलाई औषधोपचारसँगै परामर्श सेवा दिइएको छ । शिविरकै क्रममा २७५ घरधुरीका नागरिक तथा कृषकलाई तरकारीको बिउबिजन वितरण गरिएको छ भने २८ हजार २ सय ६० रुपैयाँ राजस्व संकलन भएको वडाध्यक्ष केसीले बताए । 

 

वडाको छिपखोला बस्तीबाट सुरु भएको एकीकृत घुम्ती शिविर सुद्री, दत्कुना, कुरपानी, तुवाङ, खरिवोट, किदा हुँदै नायगाडमा पुगेर शनिबार सम्पन्न भएको हो । 


शिविरकै क्रममा विभिन्न योजना तथा विद्यालयको पनि अनुगमन गरिएको छ । नागरिकसँग भेटघाट छलफल तथा अन्तरक्रियासमेत गरिएको छ । 

 

नागरिकको माझमा जादाँ उनीहरूको समस्या एवं आवश्यकतालाई बुझ्ने र पहिचान गर्ने अवसर मिलेको वडाध्यक्ष केसी सुनाउँछन् । जनसम्बन्धलाई जीवन्त राख्न निर्वाचित भएको वर्षदेखि नै यो अभियान निरन्तर सञ्चालन गरिरहेको वडाध्यक्ष केसीले बताए ।

 

वडाध्यक्षको नेतृत्वमा क्षेत्रगत कर्मचारीबाट घरआँगनमै पुगेर सेवा प्रवाह हुँदा वडाबासीले खुसी व्यक्त गरेका छन् ।