close

रुकुम पूर्वलाई १ हजार क्विन्टल चामल

रुकुम पूर्वलाई १ हजार क्विन्टल चामल

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- काठमाडौंस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत रुकुम पूर्वका लागि १ हजार क्विन्टल चामलको कोटा स्वीकृत भएको छ । जिल्ला खाद्य व्यवस्थापन समिति रुकुम पश्चिमले माग गरेअनुसार उक्त कोटा स्वीकृत भएको हो । 

 

आर्थिक वर्ष २०७७/७८ का लागि खाद्य व्यवस्थाको रुकुम पश्चिम शाखा कार्यालयले प्रधान कार्यालय काठमाडौंमा अनुरोध गरेपछि उक्त परिमाणको चामलको कोटा स्वीकृत भएको हो । 

 

रुकुम पूर्वमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रत्येक वर्ष जिल्लाका रुकुमकोट र तकसेरामा चामल आपूर्ति गर्ने गरेको छ । आसपासका सर्वसाधारणलाई लक्षित गरेर ठेक्कामार्फत यहाँ ल्याइएको चामल ठेकेदारले नै बेच्दै आएका छन् । 

 

रुकुम पूर्व छुट्टै जिल्ला बनेपछि हालसम्म जिल्लामा छुट्टै खाद्य डिपो कार्यालय स्थापना नभएपछि हाल खाद्यको चामल ठेक्कामार्फत आपूर्ति भइरहेको छ ।

 

चालू आर्थिक वर्षमा पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १० तकसेराको लागि ५ सय र सिस्ने गाउँपालिकाको रुकुमकोटका लागि ५ सय गरी जिल्लामा १ हजार क्विन्टल खाद्यको चामल स्वीकृत भएको रुकुम पश्चिम खाद्य डिपो कार्यालयका निमित्त शाखा प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिए । 

 

रुकुमकोटमा राप्ती बहुसेवा प्रालि र तकसेराका लागि एमबी बिल्डर्सले ठेक्का पाएको छ । तकसेराका लागि ३ सय ६० क्विन्टल र रुकुमकोटका लागि ६० क्विन्टल गरी ४ सय २० क्विन्टल चामल आइपुगेको निमित्त शाखा प्रमुख खड्काले बताए ।

 

बाँकी ५ सय ८० क्विन्टल चामल आउन बाँकी रहेकामा असारसम्म उक्त चामल जिल्लामा ल्याइसक्नुपर्ने खड्काले जानकारी दिए । 

 

तकसेरामा पहिलो चरणको खाद्यको चामल बिक्री भइसकेको छ भने दोस्रो चरणको चामल आउन बाँकी छ । हालै रुकुमकोटका लागि मोटो चामल, सोना मन्सुली र जिरा मसिनोका २०÷२० क्विन्टल गरी ६० क्विन्टल चामल आइपुगेको रुकुमकोट जिल्ला उद्योग वाणिज्य संघ रुकुमपूर्वका अध्यक्ष यज्ञप्रकाश मल्लले बताए ।

 

खाद्यको चामल किन्न सिस्ने वडा नम्बर ६ छिप्रीदहमा रहेको समथिङ स्टोर पसलबाट खाद्यको चामल बिक्री भइरहेको अध्यक्ष मल्लको भनाइ छ । 

 

ठेकेदारले बेच्छन् खाद्यको चामल !


ठेकेदारले चामल बिक्री गर्ने भएकाले भनेको समय उपलब्ध नहुने गरेको भूमे गाउँपालिका वडा नम्बर २ का तिलक बुढा मगरले बताए । ‘चामल बिक्री गर्न केही दिन मात्रै ठेकेदारका मान्छे बस्छन्,’ उनले भने, ‘टाढाबाट पुग्दापुग्दै उनीहरू उठिहाल्छन् । हामीले चामल पाउन मुस्किल हुन्छ ।’

 

बजारका मान्छेले खासै खाद्यको चामल नकिन्ने भए पनि गाउँलेका लागि खाद्य संस्थानकै कार्यालय र कर्मचारी हुँदा सजिलो हुने उनको भनाइ छ । रुकुमकोट तथा तकसेराको चामल ढुवानी तथा अरू व्यवस्थापन रुकुम पश्चिमको शाखाले हेर्दै आएको छ ।

 

चामल सम्बन्धित ठाउँमा पुग्यो/पुगेन, बिक्री भयो/भएन भनेर खाद्य कम्पनीले वास्ता गर्दैन । रुकुमकोटको शोभा गाउँमा कम्पनीको डिपो कार्यालय छ । 

 

डिपोमा कर्मचारी नहुँदा लामो समयदेखि ठेकेदारले चामल बेच्नुपरेको छ । डिपोका लागि १ जना सुब्बा स्तरका कार्यालय प्रमुख, १ जना सहायक र १ जना कार्यालय सहयोगीको दरबन्दी छ । १९ वर्षदेखि यहाँ कर्मचारी छैनन् । 

 

तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा खाद्य संस्थानको डिपो कार्यालय त्यहाँबाट हटाइएको थियो । त्यसपछि डिपोमा कर्मचारी फर्केका छैनन् । तकसेरामा पनि कर्मचारी छैनन् । ढुवानी ठेक्का लिएकाले नै चामल बिक्री गर्दै आएका छन् ।

 

खाद्य डिपो कार्यालयमा कर्मचारी पूर्तिका लागि पटक–पटक माग गरेपछि सरकारले वास्ता नगरेको उद्योग वाणिज्य संघ रुकुम पूर्वका अध्यक्ष मल्लले बताए ।