close

चौतर्फी विरोधपछि पुल तर्न लगाइएको कर फिर्ता 

चौतर्फी विरोधपछि पुल तर्न लगाइएको कर फिर्ता 

Trulli
ADVERTISEMENT

बागलुङ– संसारकै लामो मानिएको बागलुङ–पर्वत जोड्ने पुलमा लगाईएको प्रवेश शुल्क बागलुङ नगरपालिकाले फिर्ता लिएको छ । बिहीबार नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक सूचना मार्फत पुलमा लगाइएको पूर्वाधार उपयोग कर अर्को व्यवस्था नभएसम्मका लागि फिर्ता भएको जनाएको हो ।


७ वैशाखमा चैते दशैंको दिनबाट पूर्वाधार उपयोग करका रुपमा नगरले रकम संकलन गर्न थालेपछि चौतर्फी विरोध भएको थियो । प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले सूचना प्रकाशन गरेर कर लिने काम फिर्ता गरिएको जानकारी गराएका हुन् । 

 

बागलुङ नगरपालिका वडा नं. १ को रामरेखादेखि पर्वतको पाङ जोड्ने ५ सय ६७ मिटर लामो पुलमा २० रुपैयाँ लिएर प्रवेश गराइएको थियोे । पर्यटकीय दृष्टिले आर्कषक र नौलो भएकोले पर्यटक अनिवार्य पुलमा पुग्न थालेका छन् । सोही अवस्थालाई मध्येनजर गर्दै नगरपालिकाले पुलको मर्मत संभारलगायतका कामको लागि भन्दै पूर्वाधार उपयोग कर लगाएको थियो । 

 

बागलुङ नगर कार्यपालिकाको बैठकले पुल तरेको शुल्क लिने व्यवस्था गरेको वडा नं. २ का अध्यक्ष जीवन आचार्यले बताए । नगरपालिकाले कर्मचारी समेत खटाएर टिकट काट्ने व्यवस्थापन गरेको थियो । बिहीबार प्रकाशित सूचनासँगै कर्मचारीले पुल नजिकै स्थापना गरेको काउन्टर हटाएका छन् । गत असारमा निर्माण सम्पन्न भएर संचालनमा आएको यो पुल दुई महिनाअघि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका थिए । 


यो पुल बनेपछि पर्वतको पाङ तथा खुरकोटका बासिन्दा बागलुङ बजार आउन र बागलुङका मानिस पर्वत जान सहज भएको छ । यो पुलबाट कालीगण्डकी नदी, धौलागिरी हिमाल लगायतका स्थान देख्न सकिन्छ । थप आर्कषणका लागि बत्ती जडान गरेर राती बल्ने व्यवस्था समेत छ ।

 

यो पुलको आर्कषक नामाकरण गर्न समेत समिति गठन भएको छ । उक्त समितिले आर्कषक नाम प्रस्ताव गर्नेलाई २५ हजार पुरस्कार दिने निर्णय गरेको छ । पुल तर्दा लिएको शुल्कले नियमित मर्मतका लागि कोष बनाउने र खर्च गर्ने योजना नगरपालिकाले बनाएको थियो ।