close

एकै दिन १९ जना संक्रमित भएपछि गाउँ सिल 

एकै दिन १९ जना संक्रमित भएपछि गाउँ सिल 

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १ धरमपानी गाउँमा बुधबार गरिएको एन्टिजिन परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँमा गत १४ वैशाखकोे चौरासी पूजामा सहभागी भएकाहरूमा लक्षण देखिएपछि नमुना परीक्षण गर्दा सबैमा संक्रmमण पुष्टि भएको हो ।

 

वालिङस्थित गह्रौँ प्राथमिक अस्पताल र स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर गरेको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । २५ जनाको परीक्षण गर्दा १९ जनामा एकै दिन संक्रmमण पुष्टि भएको हो ।

 

‘बाक्लो बस्ती रहेको गाउँमा १ साताअघि चौरासी पूजा गरिएको र त्यहाँ सहभागी भएकाहरूमा एकाएक ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्नेलगायतका समस्या देखिएपछि परीक्षण गर्‍यौँ’, नगरप्रमुख खाँणले भने, ‘परीक्षणका क्रममा ठूलो संख्यामा संक्रमित रहेको पुष्टि भयो ।’

 

अस्पतालमा गरिएको नमूना परीक्षणमा ७ जनामा ७ जना नै संक्रमित देखिएपछि नगरपालिका तथा गह्रौँ प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीसहितको टोलीले गाउँमै पुगेर एन्टिजिन परीक्षण गरेको थियो ।

 

‘संक्रमित भएकाहरूको परिवारमा पनि संक्रमण सर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेका छौँ’, नगरप्रमुख खाँणले भने, ‘त्रसित नहुन र नआत्तिन आवश्यक परामर्श दिएका छौँ । संक्रमित तथा परिवारका सदस्यहरूलाई आवश्यक औषधीसमेत वितरण गरेका छौँ ।’

 

गाउँभरि संक्रमित देखिएपछि तत्कालका लागि उक्त गाउँका नागरिकलाई घरबाट बाहिर ननिस्कन र बाहिरबाट पनि त्यस ठाउँमा आउजाउ गर्न निषेध गरी सिल गरिएको नगर उपप्रमुख कल्पना तिवारीले बताइन् । नागरिकको स्वास्थ्यप्रति नगरपालिका २४ सै घन्टा सजग रहेकाले समस्या पर्नासाथ सम्पर्क गर्न उनले आग्रह गरिन् ।

 

उक्त गाउँमा ९ वर्षका बालकदेखि ७७ वर्षीया महिलासम्म सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए । संक्रमित हुनेमा महिला १४ जना र पुरुष ५ जना छन् । 

 

गाउँमै पुगेर आवश्यक औषधी वितरण गरिएको र समस्या परे जुनसुकै समय स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेकाले गह्रौँ प्राथमिक अस्पतालको अक्सिजनसहितको आइसोलेसनमा ल्याएर उपचार गरिने शाखा प्रमुख पाण्डेले जानकारी दिए । बुधबार मात्रै अस्पतालमा गरिएको परीक्षणमा ३५ जनामा संक्रमण देखिएको छ ।