close

ताप्लेजुङमा ९ स्थानीय तहमध्ये मिक्वाखोला र फक्ताङ्लुङ संक्रमणविहीन

ताप्लेजुङमा ९ स्थानीय तहमध्ये मिक्वाखोला र फक्ताङ्लुङ संक्रमणविहीन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङका ९ मध्ये २ वटा स्थानीय तहमा अहिलेसम्म कोरोना संक्रमित फेला नपरेको पाइएको छ । ९ स्थानीय तहमध्ये फुङलिङ नगरपालिकामा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । नगरपालिकामा कोरोनाका कारण ५ जनाले ज्यानसमेत गुमाएका छन् ।

 

जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार आइतबारसम्मको विवरणअनुसार फुङलिङ नगरपालिकामा पिसिआर परीक्षणमा पठाएको संख्या ५३० जनामध्ये संक्रमित संख्या २ सय ३ रहेको छ ।

 

नगरपालिका क्षेत्रका ५ जनाले ज्यान गुमाएका छन् । १० जना स्वास्थ्यलाभ गरेर डिस्चार्ज भएका छन् । खरेलका अनुसार २०६ जनाको स्वाब परीक्षण गर्न पठाएकामा त्यसको नतिजा आउन बाँकी छ ।

 

यस्तै, मैवाखोला गाउँपालिकामा ५ जना संक्रमित छन् । ३७ जनाको पिसिआार परीक्षण गर्न पठाएकामा ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

 

यो गाउँपालिकाका १ महिलाको उपचारका क्रकमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो । मेरिङदेन गाउँपालिकामा १२ जना संक्रमित रहेका छन् । ५५ जनाको पिसिआर परीक्षण गर्न पठाएकामा १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने थप ५५ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

 

अहिलेसम्म संक्रमितविहीन गाउँपालिका हो, मिक्वाखोला । यो गाउँपालिकाबाट २० जनाको स्वाब परीक्षणका लागि पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले जानकारी दिए । 

 

१ एन्टिजेनसहित सिरिजंघा गाउँपालिकामा १२ जना सक्रिय संक्रमित छन् । प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार ३५ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ । 

 

१ जनाको एन्टिजेन पोजेटिभ आएपछि त्यहाँ स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । पाथीभरा याङ्बरक गाउँपालिकामा ४ जना पोजेटिभ रहेका छन् । २० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकामा ४ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिए । 

 

आठराई त्रिवेणी गाउँपालिकामा ५ जना सक्रिय संक्रमित रहेका छन् । ४८ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा ५ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय इङ्नामले बताए ।

 

सिदिङ्वा गाउँपालिकाका ७४ जनाको एन्टिजेन परीक्षणका क्रममा ३२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । ४९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइए पनि रिपोर्ट नआएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले जानकारी दिए ।

 

अहिलेसम्म फक्ताङ्लुङ गाउँपालिकामा सक्रिय संक्रमित देखिएका छैनन् । सोही कारण यो अवस्था कायम राख्न गाउँपालिकाले पालिका प्रवेश गर्नेहरूको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ भएको प्रमाण अनिवार्य हुनुपर्ने नियम बनाइएको छ । 

 

पालिकाबासीलाई पनि अत्यावश्यक कामबाहेक पालिकाभन्दा बाहिर जान प्रतिबन्ध गरिएको गाउँपालिकाका अध्यक्ष सरोज एभेङ लिम्बूले बताए ।