close

विपन्नलाई खाना जोहो गर्न बर्दिबासमा फुड बैंक

विपन्नलाई खाना जोहो गर्न बर्दिबासमा फुड बैंक

Trulli
ADVERTISEMENT

महोत्तरी– बर्दिबास कोभिड–१९ व्यवस्थापन समितिले फुड बैंक स्थापना गरेको छ । गरिब, विपन्न मजदुरका लागि खाना सञ्चय गर्ने उद्देश्यले फुड बैंक स्थापना गरिएको कोभिड–१९ व्यवस्थापन समितिले जनाएको छ ।

 

‘हुनेले दिनुस्, नहुनेले लिनुस्’ नारासहित स्थापना गरिएको फुड बैंकले काम गर्न नपाएर छाक टार्न अफ्ठेरो परिरहेकालाई सहुलितय पुग्नेछ । ‘फुड बैंक स्थापनाले हामीजस्ता गरिबलाई खुसी तुल्याएको छ’, बर्दिबास वडा नम्बर ३ की मेनुका विकले भनिन् ।

 

फुड बैंक स्थापनामा नेपाल उद्योग वाणिज्य संघ बर्दिबास, हेल्थ फाउन्डेसन, हेल्प फाउन्डेसन, नेपाल पत्रकार महासंघ महोत्तरी, रोटरी कलब बर्दिबास, कृष्ण टेन्ट हाउस बर्दिबास, सहकारी सञ्जाल, होटल तथा पर्यटन व्यवसायी संघको सहयोग छ ।

 

‘विषम परिस्थितिमा खाना अभावमा अब कोही पनि मर्ने अवस्था आउँदैन । हामी खाना व्यवस्थापनमा सक्रिय भइसकेका छौँ’, कोभिड व्यवस्थापन समिति स्वयंसेवक तथा रोडट्¥याकका अध्यक्ष सागर फुयालले भने ।

 

फुड बैंक स्थापनाको खबरपछि ग्रामीण भेगका किसानले समेत सहयोगको चाहना व्यक्त गरेका छन् ।‘हामीले दिएको १ माना चामल तथा सहयोगले कुनै गरिबको पेट भरिन्छ भने सहयोग गर्न तत्पर छौँ’, वडा नम्बर ईश्वर बस्नेत भन्छन् ।

 

बर्दिबासमा कोरोना संक्रमणको दर उच्च भएसँगै त्यसबाट उत्पन्न हुन्न सक्ने भोकमरीको संकट समाधानका लागि फुड बैंकले भूमिका खेल्ने कोभिड व्यवस्थापन समितिको भनाइ छ । नगरपालिकामा मात्र अहिलेसम्म १३२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।