close

माओवादी नेतालाई गोली हान्ने व्यक्ति जसपा संसदीय दलका नेताका स्वकीय सचिव 

माओवादी नेतालाई गोली हान्ने व्यक्ति जसपा संसदीय दलका नेताका स्वकीय सचिव 

Trulli
ADVERTISEMENT

कपिलवस्तु– नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेमाथि गोली प्रहार गर्ने २ जनालाई कपिलवस्तु प्रहरीले सार्वजनिक गरेको छ ।

 

बुधबार राती पाण्डेमाथि गोली प्रहार गर्ने घटनाका आरोपी कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ३९ वर्षीय ओमप्रकाश यादव र सोही नगरपालिका वडा नम्बर २ का ३३ वर्षीय साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

 

घटनाका मुख्य नाइके यादव जनता समाजवादी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका लुम्बिनी प्रदेश अध्यक्ष र पार्टी लुम्बिनी प्रदेश संसदीय दल नेता सहसराम यादवका स्वकीय सचिवसमेत हुन् । नेता पाण्डेको पेटमा २ राउन्ड गोली प्रहार भएको थियो । 

 

घटनामा संलग्नबाट लु१६प ३४९७ नं. को पल्सर मोटरसाइकल, २ थान मोबाइल, १ थान जंगी राउन्ड, १ थान खोका पनि बरामद गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

 

आरोपित यादवले व्यक्तिगत झगडाका कारण गोली हानेको स्वीकारेको प्रहरीले जनाएको छ । बुधबार राती ११ बजे भएको घटनाको प्रहरीले बिहीबार दिउँसो १२ बजे संदिग्धको पहिचान गरेको थियो । 

 

नेता पाण्डे कपिलवस्तु नगरपालिकाको सडवाबाट तौलिहवातर्फ आफ्नो निजी मोटरसाइकलमा आउँदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । पाण्डेसँगै रहेका अर्का भारतीय नागरिक मोहमद इर्साद खान घाइते भए पनि अवस्था सामान्य छ ।

 

तर, पाण्डेको शरीरको २ स्थानमा गोली लागेको र गोली प्रहारलगत्तै उनलाई कपिलवस्तुमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।