close

रुकुम पूर्वमा पनि लाग्यो यार्सा खोजीमा रोक

रुकुम पूर्वमा पनि लाग्यो यार्सा खोजीमा रोक

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले यो वर्ष यार्सा संकलनमा रोक लगाउन निर्देशन दिएको छ । कोरोना महामारी फैलिरहेकाले यसबेला यार्सा संकलन खुला गर्दा संक्रमणको जोखिम झनै उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले गाउँपालिकालाई निर्देशन दिएको हो ।

 

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १, २ र ३ नम्बर वडा क्षेत्रका बुकी पाटनमा यार्सा पाइन्छ । रुकुम पूर्वसहित यार्सा पाइने छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको भर्चुअल बैठकबाट यो वर्ष पनि यार्सा संकलनमा रोक लगाउने सहमति भएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।

 

कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको यो अवस्थामा एउटा जिल्लाले मात्र रोक लगाएर नहुने हुँदा छिमेकी जिल्लामा पनि संकलनमा रोक लगाउने सहमति भएको राईले बताए ।

 

कोरोना महामारीकै कारण गत वर्ष पनि यार्सा संकलनमा रोक लगाइएको थियो । कोरोनाबाट बच्न यार्सा संकलनमा रोक यसबाट जीवीकोपार्जन गर्दै आएकाको भने आम्दानी खोसिएको छ ।  प्रत्येक वर्षको जेठ दोस्रो साताबाट यार्सा टिपाइ सुरु भएर असार दोस्रो सातासम्म संकलन हुने गरेको थियो ।  

 

कोरोनाले खोस्यो आम्दानी

 

रुकुम पूर्वसँगै छिमेकी जिल्लाका नागरिकले यार्सा टिपेर आम्दानी गर्दै आएकालाई आवश्यक घर खर्चको जोहो टुटेको छ । संकलनको सिजनमा १ महिनासम्म बुकीमै बिताउने उनीहरूले प्रतिपरिवार यार्सा टिपेर मात्रै न्यूनतम ३० हजारदेखि ५ लाख रुपैयाँ बढी आम्दानी गर्ने गरेका थिए । 

 

यार्सा टिप्न जानेका लागि व्यवस्थापन समितिले प्रवेश शुल्क निर्धारण गरेको हुन्छ । सोहीबमोजिम प्रवेश शुल्क तिरेर यार्सा टिप्नुपर्छ । 


रुकुम पूर्वसँगै डोल्पा, दार्चुला, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङलगायत क्षेत्रमा यार्सा बढी पाइन्छ । तीमध्ये डोल्पा र रुकुम पूर्वको पुपाल क्षेत्रको यार्सालाई व्यापारीको रोजाइमा परेको छ । यहाँको यार्सा बढी मूल्यमा बिक्ने गरेको छ ।


शक्तिप्रवद्र्धक, रोग प्रतिरोधात्मक, चिकित्सा क्षेत्रमा समेत प्रयोग हुने भएकाले यसको माग बढ्दो छ । विशेषगरी चीनमा नेपालको यार्सा निर्यात हुँदै आएको छ ।