close

हाम्रोपात्रोबाट अब रेडियो एचडीमा सुन्न सकिने

हाम्रोपात्रोबाट अब रेडियो एचडीमा सुन्न सकिने

Trulli
ADVERTISEMENT

काठमाडौं- ‘हाम्रो पात्रो’मा अब रेडियो एचडी (हाइ डेफिनेसन) अर्थात उच्च गुणस्तरीय आवाजमा सुन्न सकिने भएको छ । उच्च गतिको इन्टरनेट सेवा विस्तार हुँदै गएसँगै हाम्रो पात्रोमा उपलब्ध रेडियो स्टेसनलाई थप स्पष्ट सुन्न सकिने  व्यवस्था मिलाइएको हो ।  यसअघि ३२ केबीपीएस तथा ६४ केबीपीएसमा उपलब्ध रेडियोहरु अब एचडी अर्थात १२८ केबीपीएसमा समेत सुन्न सकिनेछ ।

 

 हाल ईमेज एफएम, उज्यालो रेडियो नेटवर्क, विजया एफएम, नेपाली रेडियो नेटवर्क, क्लासिक एफएम एचडीमा गइसकेका छन् । बाँकी रेडियोलाई समेत क्रमशः एचडीमा रुपान्तरण गर्ने तयारी चलिरहेको हाम्रो पात्रोका प्रबन्ध निर्देशक सुदिना गौतमले जानकारी दिइन् । ‘अबको केही दिनमा ५०  वटा एफएम रेडियोलाई एचडीमा लैँजादैछौं,’ उनले भनिन्, ‘यसैगरी अबको दुई महिनाभित्र सय वटा रेडियोलाई एचडीमा उपलब्ध गराउने हाम्रो योजना छ ।’


हाल हाम्रो पात्रोमा देशभरका करिब पाँच सय सुन्न सकिने सुविधा छ । हाम्रो पात्रो एपमार्फत देश-विदेश जतासुकै बाट नेपाली रेडियो सुन्न सकिन्छ । परम्परागत प्रविधि अर्थात एफएम रेडियो सेटमार्फत सीमित क्षेत्रमा मात्र एफएम रेडियो सुन्न सकिने सीमिततालाई हाम्रो पात्रोले तोडेको छ । जसले गर्दा रेडियो फ्रिक्वेन्सी बिना देशभरका रेडियो विश्वभर सुन्न सम्भव भएको हो । 

 

८ वर्ष अघि अर्थात् सन् २०१३ मा रेडियो प्रसारणलाई आफ्नो प्लेटफर्ममा जोडेको हाम्रो पात्रोमा हाल दैनिक चार लाख स्रोताले रेडियो सुन्ने गरेका छन् । न्यून इन्टरनेट ब्याण्डविथ खपत गर्ने भएकाले वाईफाई तथा फिक्स लाइन इन्टरनेट नहुँदाको बखत मोबाइल डेटाबाट समेत हाम्रो पात्रोमा रेडियो सुन्न सकिन्छ । यस किसिमको सहजताले अहिले अनलाइनमा रेडियो सुन्नेको संख्या समेत बढ्दै गएको छ । 

 

हाम्रो पात्रोले साउथकास्ट स्ट्रिमिङ प्रविधिमार्फत देशभरका रेडियोलाई आफ्नो एपमा स्ट्रिमिङ गर्दै आएको छ । यसका लागि सम्बन्धित रेडियोले कम्पनीलाई स्ट्रिमिङ लिङ्क उपलब्ध गराएका छन् । त्यस वापत रेडियो स्टेसनले हाम्रोपात्रोलाई कुनै शुल्क समेत तिर्नु पर्दैन ।