close

सेतीवेणीका बाढीपीडितको बस्तीमा गल्याङ नगरप्रमुखको दौडाहा

सेतीवेणीका बाढीपीडितको बस्तीमा गल्याङ नगरप्रमुखको दौडाहा

Trulli
ADVERTISEMENT

स्याङ्जा- लगातारको वर्षाका कारण समस्यामा परेका वासिन्दालाई सान्त्वना दिन गल्याङ नगरप्रमुख भूपराज अधिकारी वडा नम्बर ५ सेतीवेणी पुगेका छन् ।  वर्षाले कालीगण्डकी नदीको सतह बढेर समस्यामा परेका स्थानीयको अवस्था बुझ्न नगरप्रमुख अधिकारी पीडितको बस्ती पुगेका हुन् । 


स्थानीयसँगको भेटमा प्रमुख अधिकारीले तत्कालीत राहतस्वरूप जनही ५ हजार रुपैयाँका दरले बाढीपीडितलाई हस्तान्तरण गरे । केही दिनअघि परेको पानीका कारण सेतीवेणीमा रहेका १० वटा पसलमा बाढीले क्षति पु¥याएको थियो भने एउटा घर पूर्ण क्षति भएको थियो । 

 

पूर्ण क्षति भएका परिवारलाई २० हजार र अन्य पीडितसहित १९ परिवारलाई ५ हजार रुपैयाँका दरले नगरप्रमुख अधिकारीले तत्कालीन राहत उपलब्ध गराए । बाढीले तहसनहस बनाएको सेतीवेणी क्षेत्रको अवलोकनपछि गरिएको कार्यक्रममा नगरप्रमुख अधिकारीले पीडितलाई उचित क्षतिपूर्तिको पहल गर्ने आश्वासन दिए । 


सेतीवेणीका वासिन्दाको चाहनाका आधारमा वैकल्पिक बसोबासको व्यवस्थाका लागि सक्दो सहयोग गर्ने अधिकारीले बताए । ‘कालीगण्डकी ए जलविद्युत् परियोजनासँग समन्वय गरेर बस्ती स्थानान्तरण गर्ने वा अन्य विकल्पमा स्थानीयको चाहनाअनुसार दीर्घकालीन समाधानको पहल गरिनेछ’, उनले भने । 


दुर्गम क्षेत्रमा रहेका र विपन्न परिवार राहत लिन कम पुग्ने गरेकाले लक्षित वर्गलाई प्राथमिकता राखिएको उनको भनाइ छ । कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णुबहादुर बस्याल क्षेत्रीले स्थानीयको समस्या समाधानका लागि प्रयत्नशीले रहेको जानकारी दिए ।  स्थानीयले कालीगण्डकी ए जलविद्युत् परियोजनाको कारण बर्सेनि पीडा भोग्नुपरेको गुनासो गरे ।