close

भजनीमा लाग्यो ताला, वडासचिवको याे कस्ताे चाला ? (भिडियो खबर)

भजनीमा लाग्यो ताला, वडासचिवको याे कस्ताे चाला ? (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) झापाको भद्रपुर नगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तासम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न, कार्यक्रममा वडा सचिव र सामाजिक परिचालकको सहभागिता ।

 

२) उज्ज्वल स्मृति प्रतिष्ठानद्वारा काभ्रेको नमोबुद्ध नगरपालिकामार्फत मेथिनकोट अस्पताललाई अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण, कोरोना रोकथाम तथा नियन्त्रणमा पालिका थप सक्रिय ।

 

३) गोरखा नगरपालिकाले कोरोनाको लक्षण देखिएका व्यक्तिको आहाले भन्ज्याङमा पिसिआरका लागि स्वाब संकलन गर्‍यो, पालिकाले पछिल्लो समय कोरोना परीक्षणको दायरा बढायो ।

 

४) सिन्धुलीको दुधौली नगरपालिकामा फोहोर व्यवस्थापनका लागि प्रांगारिक मल उत्पादन केन्द्र धमाधम निर्माण हुँदै, जनप्रतिनिधि र कर्मचारीले गरे केन्द्रको अनुगमन ।

 

५) गुल्मीको मालिका गाउँपालिकाले उन्नत जातका भैँसी खरिद गर्ने किसानलाई ५० हजार रुपैयाँ अनुदान दिन थाल्यो, आगामी वर्षमा पनि सबै वडामा यो कार्यक्रम सञ्चालन गरिने ।

 

६) युवतीलाई करणी गरेको आरोपमा सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का वडा सचिव अम्मरराज कालाथोकी पक्राउ, प्रहरीले कालाथोकीमाथि जबर्जस्ती करणी उद्योगअन्तरगत मुद्दा दायर गर्‍यो ।

 

७) कैलालीको भजनी नगरपालिकामा उपप्रमुख छाया देवकोटासहित वडाध्यक्षहरूले गरे तालाबन्दी, नगरप्रमुख शेरबहादुर चौधरीले बहुमतको आधारमा योजना तर्जुमा नै नगरी बजेट पारित गरेर नगरसभा आयोजना गरेको आरोप ।

 

८) भारतीयलाई नागरिकता बनाइदिएको आरोपमा पक्राउ परेका नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित ८ जनामाथि प्रहरीले थाल्यो अनुसन्धान, वडाध्यक्षले सिफारिस दिँदा नबुझी दिएको खुलासा ।

 

९) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले वडा नम्बर १० मा चालू आर्थिक वर्षमा भए-गरेका काम र सेवा प्रवाहका विषयमा गर्‍यो सार्वजनिक सुनुवाइ, कार्यक्रममा जनप्रतिनिधि र स्थानीयको सहभागिता ।

 

१०) सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ९ ले आफ्नै भवनबाट सेवा दिन थाल्यो, नवनिर्मित वडा कार्यालयको गरियो उद्घाटन ।
 

११) कोरोना नियन्त्रणमा खटिएका प्रहरीलाई रोल्पाको परिवर्तन गाउँपालिकाले प्रोत्साहन भत्ता दिने, प्रहरीले जनही ५ हजार रुपैयाँका दरले रकम पाउने ।

 

१२) सप्तरीको खडक नगरपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न, नवनिर्मित भवनको गरियो उद्घाटन ।

 

१३) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा रकम जुट्दै, प्रभावितलाई राहत लिन कागजातसहित वडा कार्यालयमा सम्पर्क गर्न मेलम्ची नगरपालिकाले जारी गर्‍यो सूचना ।

 

१४) दाङको तुलसीपुर उपमहानगरपालिकामा २०७१ को बाढीपहिरोबाट प्रभावित हुनेलाई राहत रकम प्रदान गरिने, संघीय सरकारले पठाएको रकम पीडित परिवारको बैंक खातामा जम्मा हुने गरी उपप्रमुख माया आचार्यले गरिन् बैंकलाई चेक हस्तान्तरण ।

 

१५) सिन्धुलीको सुनकोशी गाउँपालिकाले वडा नम्बर ५ का स्थानीयलाई पानी तान्ने पम्प हस्तान्तरण गर्‍यो, कटहरे फाँटको ८ बिघा जग्गा सिञ्चित हुने ।

 

१६) कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि बुटवल सिमेन्ट मिल्स प्रालिले नवलपरासीको सुनवल नगरपालिकाको कोभिड अस्पताललाई ७०० थान पिपिई सेट प्रदान गर्‍यो, नगरप्रमुख भीमबहादुर थापा क्षेत्रीले बुझे स्वास्थ्य सामग्री ।

 

१७) ललितपुरको गोदावरी नगरपालिकाले सडकमा सिसिटिभी जडान गर्न सुरु गर्‍यो, आपराधिक क्रियाकलाप नियन्त्रणमा आउने ।

 

१८) भूकम्पबाट घर क्षतिग्रस्त भई सरकारी अनुदानबाट छुटेकालाई काभ्रेको भुम्लु गाउँपालिकाले  तीन लाख रुपैयाँ आवास अनुदान दिने, पालिकाको निर्णयले प्रभावित परिवार खुसी ।

 

१९) सप्तरीको कञ्चनरूप नगरपालिकाको पाँचौँ नगरसभा सम्पन्न, सभाले गर्‍यो विभिन्न महत्वपूर्ण निर्णय ।

 

२०) बाढीपहिरोले विद्युतकाे पोलमा क्षति र इन्टरनेटको फाइबर चुँडाएपछि म्याग्दीको धवलागिरि गाउँपालिकाको सेवा ठप्प ।