close

धरानको कार्यपालिका बैठक: सबै वडामा खोप लगाइँदै 

धरानको कार्यपालिका बैठक: सबै वडामा खोप लगाइँदै 

Trulli
ADVERTISEMENT

धरान- सुनसरीको धरान उपमहानगरपालिकाले खोप केन्द्रअन्तर्गत रहेका सबै वडामा आलोपालो गरेर कोरोनाविरुद्धको खोप लगाउने निर्णय भएको छ । आइतबार मेयर तिलक राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । धरानमा ७ स्थानमा खोप केन्द्र तोकिएको छ । 


७ वटा खोप केन्द्रलाई नै लक्षित गरेर त्यहाँ परिचालन गरिएका स्वास्थ्यकर्मीबाट दिन बिराएर वडागत रूपमा खोप लगाउन व्यवस्था गरिने निर्णय भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।


मेहताका अनुसार कार्यपालिका बैठकमा कोभिड-१९ खोपसँग सम्बन्धित विषयगत निर्णय गरिएको छ । यसअन्तर्गत विगतमा सञ्चालन भएका खोप कार्यक्रमको समीक्षा गर्दै आगामी दिनमा खोप कार्यक्रमलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा समीक्षा भएको थियो ।

 

‘खोप केन्द्र वडा-वडामा हुँदैन । विगतमा सञ्चालन गरिएकै ७ स्थानमा हुन्छ । आगामी दिनमा खोप केन्द्रअन्तर्गत रहेका वडा-वडामा आलोपालो गरेर खोप लगाइन्छ,’ उनले भने । यस्तै, कार्यपालिका बैठकमा विद्यालय सञ्चालन तथा शुल्क निर्धारण सम्बन्धमा पनि छलफल भएको थियो । बैठकले गत वर्ष भएकै निर्णयलाई पारित गरेको छ ।


शिक्षा तथा खेलकुद महाशाखा प्रमुख रत्न कटवालका अनुसार विद्यालयले वार्षिक शुल्कको हकमा ५० प्रतिशत मात्र शुल्क लिन पाउनेछन् भने अनलाइन कक्षाको हकमा मासिक शुल्क ५० प्रतिशत मात्र लिन पाउनेछन् ।