close

स्थानीय तहमा बालमैत्री क्वारेन्टाइन संरचना निर्माण गर्न परिपत्र 

स्थानीय तहमा बालमैत्री क्वारेन्टाइन संरचना निर्माण गर्न परिपत्र 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ-  सरकारले स्थानीय तहमा बालबालिकामैत्री क्वारेन्टाइन एवं अन्य आवश्यक संरचना तत्काल निर्माण गर्न परिपत्र गरेको छ ।  देशभरका जिल्ला समन्वय समिति र स्थानीय तहहरूलाई संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो परिपत्र गरेको हो ।


संघीय संसद्को महिला तथा सामाजिक समितिले गरेका निर्णयको सक्कलै पत्र कार्यान्वयनका लागि पठाउँदै मन्त्रालयले कोभिड संक्रमणबाट प्रभावित बालबालिकाको उपचारमा कुनै पनि प्रकारको अभाव हुन नदिन स्थानीय तहसहित सम्बन्धित सबै पक्षलाई सजग गराएको हो ।

 

संसदीय समितिले विभिन्न मुलुकमा बालबालिकालाइ समेत कोरोनाको खोप लगाई सुरक्षित बनाउने काम भइरहेको अवस्थामा बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको शीघ्र व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण पहल गर्न र स्थानीय तहलगायतमा बालबालिका मैत्री क्वारेन्टिन एवं अन्य आवश्यक संरचना तत्काल निर्माण गर्न कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति तथा स्वास्थ्य मन्त्रालय, संघीय मामला मन्त्रालय र समन्वयका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देश गर्ने निर्णय भएको छ ।


संघीय मामला मन्त्रालयले कोभिड सामना गर्न स्वास्थ्यकर्मीको महत्त्वपूर्ण भूमिका रहने बताउँदै बालबालिकासम्बन्धी विशेषज्ञ, स्वास्थ्यकर्मीको संख्या अपेक्षित न्यून रहेको अवस्थामा उपलब्ध स्वास्थ्यकर्मीको समुचित र प्रभावकारी व्यवस्थापन गर्न, अनिवार्य रूपले खटाएको स्थानमा सेवा गर्नैपर्ने गरी स्वास्थ्यकर्मी परिचालन गर्न र स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीमा वृत्ति विकाससम्बन्धी देखिएको द्विविधा समाधान गर्नसमेत संसदीय समितिले सम्बन्धित पक्षलाई निर्देश गरेको छ ।


कोरोनाको तेस्रो भेरियन्ट बालबालिका लक्षित हुने अनुमान भइरहेका बेला संसदीय समितिले निर्देश गरेअनुसार स्थानीय तहसहितका सरोकारवालालाई सरकारले आगामी योजनाबारे सजग गराएको हो ।