close

बाढीपहिरोले क्षति पुगेका १६० मध्ये ११ सडक अझै अवरुद्ध

बाढीपहिरोले क्षति पुगेका १६० मध्ये ११ सडक अझै अवरुद्ध

Trulli
ADVERTISEMENT

काठमाडौं- सडक विभागले बाढीपहिरोका कारण मुलुकका विभिन्न ठाउँमा १६० मध्ये ११ सडक अझै सञ्चालनमा आउन नसकेको जनाएको छ । बाढीपहिरोले १६० सडकमा क्षति पुर्‍याएकामा ५३ वटा सडक खण्ड दुईतर्फी खुलेका छन् भने ९६ सडक एकतर्फी मात्रै सञ्चालनमा आएका छन् । 


तर, ११ वटा सडक खण्डमा धेरै ठाउँमा क्षति भएको र भौगोलिक विकट क्षेत्रका कारण पनि खुलाउन अप्ठेरो परिरहेको विभागले बताएको छ । सबैभन्दा बढी लमजुङको डुम्रे बेँसीसहर–चामे सडकमा समस्या देखिएको विभागको भनाइ छ । यो सडक खण्ड लामो समयदेखि बन्द छ । 


त्यहाँको तिमाङ छहरा, धारापानी, बगरछाप, रामबजार, अर्खले र तिमाङखोला गरी ६ ठाउँमा ठूलो क्षति पुगेपछि सडक खुलाउन कठिन भएको विभागले जनाएको छ ।


अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लिपिङ पुल क्षेत्रमा सडक पनि ठप्प छ । ठोरी-रसुवागढी सडक खण्डको त्रिशूली, सानो भार्खु, गाँजाबारी मैथली खण्डमा धेरै नोक्सानी पुगेको छ । यस्तै, सुर्खेत-गमगडी सडकको कालिकोटको हुल्ममा पुर्‍याएको क्षतिका कारण सडक ठप्प छ ।


विभागले सडक खुलाउन र यातायातलाई सहज बनाउन मर्मत उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखेर काम गरिरहेको बताए पनि भौगोलिक विकटताका कारण समस्या भएको हो । अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको मेलम्ची जाने सडकलाई बाढीले कटान गरेको छ । गत १६ साउनदेखि मेलम्चीमा आएको बाढीको कटान अझै रोकिएको छैन ।


हालैको बाढीले सडक कटान गर्दा अरनिको राजमार्गअन्तर्गतको जिरोकिलो हुँदै मेलम्ची जाने मुख्य सडक खण्ड भत्किएको छ । यसले त्यहाँको जनजीवन झन् कष्टकर बनेको छ । बाढीले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिकाको सडक अस्तव्यस्त बनेको छ ।


यसअघि जिरोकिलोबाट मेलम्चीसम्मको सडकमा क्षति नभए पनि हालैको बाढीले नोक्सानी गरेको हो । सडक भासिएसँगै मेलम्चीबाट काठमाडौं आउजाउका लागि साँखुको वैकल्पिक सडक प्रयोग गर्नुपर्नेछ ।