close

सिरिजंगाले प्राविधिक विषयमा छात्रवृत्तिका लागि माग्यो आवेदन

सिरिजंगाले प्राविधिक विषयमा छात्रवृत्तिका लागि माग्यो आवेदन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ-  ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले प्लस टु वा सो सरहको प्राविधिक बिषय अध्ययनका लागि विद्यार्थी छनौट गरी पठाउन पालिकाका सबै सामुदायिक बिद्यालयहरुलाई परिपत्र गरेको छ । 

 

गाउँपालिका क्षेत्र भित्र दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले पालिकाका सबै वडा भित्रका सामुदायिक विद्यालयबाट एसईई परीक्षामा सर्वोकृष्ट नतिजा ल्याउने प्रत्येक वडाका १–१ जना विद्यार्थीलाइ प्रत्येक वर्ष गाउँपालिकाले प्लस टु वा सो सरहको प्राविधिक बिषय अध्ययनका लागि आवससहितको छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । 

 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार कृषि, पशु विज्ञान, रेडियोग्राफी, हाइड्रो इञ्जिनियरिङ, ल्याव, वन विज्ञान, फार्मेसी र सर्भेयर विधामा प्रत्येक वडाबाट १–१ जना विद्यार्थीलाई पालिकाले आवास सुविधासहितको छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । 

 

सिरिजंगा गाउँपालिकाको छात्रवृत्ति व्यवस्थापन सम्वन्धी ऐन २०७८ को दफा ९ मा प्राविधिक बिषय पढाइका लागि छात्रवृत्ति वितरण सम्वन्धी व्यवस्था गरिएको छ । छात्रवृत्ति पाउनका लागि १५ दिन भित्र आवेदन पेश गरिसक्नुपर्ने हुन्छ ।

 

एसईई परीक्षाको नतिजा सार्वजनिक भइसकेको अवस्थामा ८ जना विद्यार्थी उपलब्ध गराउनुपर्ने भएकाले पालिका भित्रका मावि कक्षा सञ्चालन भएका सबै सामुदायिक विद्यालयले एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने र पालिका भित्रका स्थायी बसोबास भएका १ जना विद्यार्थीको नाम छनौट एवम् सिफारिस गरी सम्वन्धित वडापालिकामा पठाउन समेत गाउँपालिकाले अनुरोध गरेको छ । 

 

यस्तो नाम पठाउँदा छात्रवृत्ति पाउन योग्य तथा पालिकाको छात्रबृत्ति सम्वन्धी ऐनमा भएको व्यवस्था प्रतिकुल नहुने तथा पछि सम्म फरक नपर्ने नाम सिफारिस गर्न समेत पालिका भित्रका माध्यमिक विद्यालयहरुलाई अनुरोध गरेको छ । 


प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार सर्बोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीले छात्रबृत्ति लिन नचाहेमा सूचीमा उल्लेखित योग्यताक्रममा रहेका विद्यार्थीलाई छात्रवृत्ति छनौट एवम् सिफारिस गरी पठाउनुपर्ने हुन्छ । पालिका भित्रका माध्यमिक विद्यालयबाट सिफारिस भइ वडापालिका हुँदै गाउँपालिकाको छात्रवृत्ति छनौट समितिमा प्राप्त भएका नामावलीलाई ऐनको प्रावधानका आधारमा योग्यता क्रम अनुसार गाउँपालिकाले योग्यहरुको नामावली तय गर्ने वताइएको छ ।