close

तिलोत्तमामा अनलाइनमार्फत घरको नक्सा पास

तिलोत्तमामा अनलाइनमार्फत घरको नक्सा पास

Trulli
ADVERTISEMENT

रूपन्देही- तिलोत्तमा नगरपालिकाले अब घरको नक्सा इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयर अर्थात् अनलाइनबाट पास हुने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । यसका लागि तिलोत्तमाभित्र घर हुनुपर्नेछ । तिलोत्तमा नगरपालिकाले भदौबाट लागू हुने गरी नगरभित्रका १७ वटै वडाका घर निर्माण कार्यको दर्ता प्रक्रियादेखि नक्सा पास र घर निर्माणसम्म विद्युतीय नक्सा पास प्रणाली सञ्चालनमा ल्याएको हो ।


पूर्वतयारीको रूपमा अघिल्लो वर्षबाटै गृहकार्य गरेर कार्यान्वयनमा ल्याइएको अनलाइन नक्सा पासका लागि सबै तयारी पूरा भएको नक्सा शाखाका प्रमुख इञ्जिनियर मनीष खनालले बताए ।  तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले नक्सा शाखामा बढी भीड देखिएको र सेवाग्राही आइरहनुपर्ने, कागजपत्र धेरै बोक्नुपर्ने झन्झटिलो अवस्था अन्त्य गर्न अनलाइनमार्फत नक्सापास प्रणाली अगाडि बढाइएको बताए ।


तिलोत्तमाका घर कलर कोड तथा सरकारको मापदण्डअनुसार बनाउने कार्यले सफलता पाइरहेको सन्दर्भ प्रस्तुत गर्दै नगरप्रमुख घिमिरेले अनलाइन जग्गा घर नक्सा पास तथा निर्माण सम्पन्न प्रक्रियाले तिलोत्तमाबासीले समय र पैसाको बचत तथा झन्झटिलो कार्यबाट मुक्ति पाउने बताए ।
नगरप्रमुख घिमिरेले भने, ‘समयको माग, भवनसंहिता पालना, स्थानीय मापदण्ड र नक्सा बनाउने प्रक्रिया पारदर्शी गर्न तिलोत्तमा नगरले यस्तो प्रक्रियाको थालनी गरेको हो ।’ 


तिलोत्तमामा सूचीकृत इञ्जिनियरिङ कन्सल्टेन्सीलाई राखेर बृहत् भेला आयोजना गर्दै सो कार्यक्रम सुरु गरिएको नगरपालिकाको नक्सा शाखाका प्रमुख इञ्जिनियर मनीष खनालले बताए । अनलाइन प्रक्रियालाई चुस्तदुरुस्त र बिनाझन्झटिलो बनाउन सुचना प्रविधिको क्षेत्रबाट समेत निकै सहजता भएको नगरपालिकाका सूचना तथा प्रबिधि प्रमुख इन्जिनियर सुदीप ढकालले जानकारी दिए । 


विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा सम्बन्धित व्यक्तिले घरमै बसेर काम गर्न सक्छन् । स्वयं व्यक्ति आएर लाइन बसिरहनु नपर्ने र फाइल बोकेर दौडिरहन नपर्ने भएकाले प्रभावकारी भएपछि नगरभरि सोही प्रणाली लागू गर्न लागिएको तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले बताए ।


पौडेलका अनुसार विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा कागजपत्र सुरक्षित रहने तथा नगरलाई पनि तथ्यांक राख्न र जुनसुकै बेला खोज्न सहज हुनेछ । नगरलाई कागजविहीन बनाउने र स्मार्ट सहरको रूपमा विकास गर्ने योजनाअन्तर्गत नगरपालिकाले अनलाइन नक्सा पास प्रणाली थालेको उनको भनाइ छ । तिलोत्तमा नगरभित्रका सूचीकृत कन्सल्टेन्सीका इन्जिनियरलाई सहजीकरण गरिएको कार्यक्रममा शाखा प्रमुख खनाल, स्ट्रक्चर इन्जिनियर सन्तोष पाण्डे, रामु न्यौपाने, सूचना प्रविधि इन्जिनियर ढकालले सहजीकरण गरेका थिए ।