close

सैनामैनामा सुरु भो गाउँ ब्लक जग्गा नापजाँच

सैनामैनामा सुरु भो गाउँ ब्लक जग्गा नापजाँच

Trulli
ADVERTISEMENT

रूपन्देही(सैनामैना)- रूपन्देहीको सैनामैना नगरपालिकामा बाँकी रहेका गाउँ ब्लक जग्गाको नापजाँच सुरु गरिएको छ । सैनामैना नगरपालिका र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको नापी विभाग रूपन्देहीको सहकार्यमा शुक्रबार गाउँ ब्लक जग्गाको नापजाँच वडा नम्बर ५ बुद्धनगरदेखि सुरु गरिएको हो । 


जग्गा नापजाँच सुरु गर्दै सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले साविक दूधराक्ष गाविस एवं हालको वडा नम्बर ५, ६, ७, ८ र ९ का थारु समुदायका गाउँ बस्तीमा रहेका गाउँ ब्लक (डि-ब्लक) जग्गाको नापजाँच सुरु गरिएको बताए । कार्कीले भने, ‘यी जग्गा विशेषगरी आवासका लागि योग्य छन् । सबैजसो जग्गामा अहिले पुरानो बस्ती बसिरहेको छ ।’ जग्गा नापजाँच गर्ने, स्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने गरी काम गरिने प्रमुख कार्कीले प्रतिबद्धता जनाए ।

 

साविक पर्रोहा र साविक सालझन्डीमा रहेका गाउँ ब्लक जग्गाको यसअघि नै काम सम्पन्न भइसकेको बताउँदै कार्कीले साविक दूधराक्ष गाविसमा प्राविधिक कारणले केही ढिला हुन पुगेको उल्लेख गरे । उनले दुई महिनाभित्र वडा नम्बर ५, ६ ८ र ९ को पूर्व–पश्चिम राजमार्गको उत्तर भेगका गाउँ ब्लकको जग्गा नापजाँच गर्ने, स्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने बताए । 


नगरपालिकाका अनुसार आउँदो दुई महिनामा राजमार्गदेखि दक्षिणतर्फ पर्ने गाउँ ब्लक जग्गाको नापजाँच गरी जग्गाधनीपुर्जा उपलब्ध गराइनेछ । जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन जनप्रतिनिधि, गाउँ ब्लक जग्गाधनी, राजनीतिक दल, नापी विभागलगायत सबैको सहकार्य आवश्यक रहने प्रमुख कार्कीको भनाइ छ । 


नापी विभाग रूपन्देही प्रमुख अजित कुँवरले रूपन्देहीमा गत वर्षको १३ सय ५० गाउँ ब्लक जग्गामध्ये १ सय गाउँ ब्लक जग्गाको काम भइरहेको बताए । उनले विशेषगरी दक्षिण भेगतिर गाउँ ब्लक जग्गाको काम बाँकी रहेको बताउँदै जनशक्ति अभावका कारण पनि नापजाँच हुन समस्या भइरहेको उल्लेख गरे ।


कुँवरले सैनामैनामा वितरण गर्न बाँकी रहेको साविक दूधराक्षको ३७ बिघा १२ कठ्ठा ६ धुर जग्गाको पुर्जा वितरणका लागि नगरपालिकाको पहलमा नापी विभागले काम सुरु गरेको बताए । उनका अनुसार अहिले सैनामैनामा ८ वटा ब्लकको नापजाँच गरिनेछ । यसअन्तर्गत करिब ४ सय गाउँ ब्लक जग्गाधनी छन् । पहिले नापी गर्दा गाउँबस्तीका घरजग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँब्लक जग्गा भन्ने गरिएको छ ।