close

सैनामैनामा जग्गाको नापी सुरु

सैनामैनामा जग्गाको नापी सुरु

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको सैनामैना नगरपालिकामा बाँकी रहेका गाउँ ब्लक (पहिलेको नापीमा छुटेका) जग्गाको नापजाँच सुरु गरिएको छ । सैनामैना नगरपालिका र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको नापी विभाग रूपन्देहीले शुक्रबार वडा नम्बर ५ बुद्धनगरबाट जग्गाको नापजाँच सुरु गरेका हुन् । 


नापजाँच शुभारम्भ गर्दै सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले साविक दुधराक्ष गाविस र हालका वडा नम्बर ५, ६, ७, ८ र ९ का थारु समुदायका सम्पूर्ण पुराना गाउँ बस्तीेका गाउँ ब्लक (डि-ब्लक ) जग्गाको नापजाँच सुरु गरिएको बताए । 


उनले भने, यी जग्गा विशेषगरी आवासका लागि योग्य छन्, सबैजसोमा अहिले पुराना बस्तीे छन् ।” जग्गा नापजाँच गर्ने, स्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने गरी तीव्र गतिमा काम गरिने प्रतिबद्धता उनले जनाए । 


साविक पर्रोहा र साविक सालझण्डीका गाउँ ब्लक जग्गाको यसअघि नै नापजाँच भइसकेको कार्कीले बताए । साविक दुधराक्ष गाविसमा प्राविधिक कारणले काम केही ढिलो भएको उनले उल्लेख गरे । उनले २ महिनामा वडा नम्बर ५, ६, ८ र ९ को पूर्व-पश्चिम राजमार्गको उत्तरी भेग पर्ने गाउँ ब्लकको सबै जग्गा नापजाँच गर्ने, स्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने वचन दिए । 


नगरपालिकाका अनुसार त्यसपछि डेढ दुई महिनामा राजमार्गदेखि दक्षिणतर्फका जग्गाको नापजाँच गरी जग्गाधनी पुर्जा उपलब्ध गराइने छ । यसमा जनप्रतिनिधि, जग्गाधनी, राजनीतिक दल, नापी विभागलगायत सबैको सहकार्य आवश्यक रहने प्रमुख कार्कीको भनाई छ । 


नापी विभाग रूपन्देही प्रमुख अजित कुँवरले रूपन्देहीमा गतवर्ष १ हजार ३ सय ५० गाउँ ब्लक जग्गामध्ये १ सयको काम भइरहेको बताए । उनले विशेषगरि दक्षिण भेगतिर गाउँ ब्लक जग्गाको काम बाँकी रहेको बताउँदै जनशक्ति अभावले पनि नापजाँचमा हुन समस्या भइरहेको उल्लेख गरे । कुँवरले सैनामैनामा वितरण गर्न बाँकी साविक दुधराक्षको ३७ बिघा १२ कठ्ठा ६ धुर जग्गाको पुर्जा वितरणका लागि नगरपालिकाको पहलमा नापी विभागले काम सुरु गरेको बताए । 


उनँका अनुसार अहिले सैनामैनामा ८ वटा ब्लकको नापजाँच गरिने छ । जसअन्तर्गत करिब ४ सय गाउँ ब्लक जग्गाधनीहरु रहेका छन् । पहिले गाउँबस्तीको घरजग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँ ब्लक जग्गा भन्ने गरिएको छ ।