close

मध्यपुर थिमिको प्रगति : ४ वर्षमा ७८ प्रतिशत

मध्यपुर थिमिको प्रगति : ४ वर्षमा ७८ प्रतिशत

Trulli
ADVERTISEMENT

भक्तपुर– नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल र जापानी रिकिसी कम्पोस्ट मल प्रविधिबारे पत्रकारसँग साक्षात्कार गरेको छ । मध्यपुर थिमि नगरपालिकाको समन्वयमा राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो । 

 

पालिकामार्फत सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल र रिकिसी कम्पोस्ट मल प्रविधिबारे जानकारी दिन उक्त कार्यक्रम आयोजना गरिएको हो ।
 
कार्यक्रममा अस्पतालका निर्देशक डा. ज्ञानकाजी कायस्थले कोभिड–१९ मा अस्पतालले दिएको सेवा र विकासबारे जानकारी दिए । कोभिड–१९ संक्रमितका लागि अस्पतालले सक्दो सेवा दिँदै आएको उनको भनाइ छ । 

 

उनका अनुसार कोरोना महामारीमा कोरोना संक्रमित बिरामीको उपचारका लागि अक्सिजन अभाव भएकाले पालिकाले आन्तरिक लगानीबाट अक्सिजन प्लान्ट जडान गरी प्लान्ट सञ्चालनमा ल्याएको छ ।

 

अक्सिजन उत्पादन गरेपछि बिरामीको उपचारका लागि अक्सिजन अभाव नभएको उनले दाबी गरे ।  रिकिसी कम्पोस्ट मल प्रालिका अध्यक्ष उषा गिरीले घरभान्साबाट निस्किएका कुहिने फोहोरबाट कसरी मोहर उत्पादन गर्न सकिन्छ भनी जानकारी गराइन् ।

 

कम्पनीले वडा नम्बर ४ को स्थानीयको घरबाट निस्कने फोहोर संकलन गरी कम्पोस्ट मल बनाउँदै आएको र त्यसलाई मुलुकका विभिन्न जिल्लामा तरकारी खेतीलगायत कृषिका लागि वितरण गरिँदै आएको उनले बताइन् । 

 

नगरपालिकाका सहरी विकास तथा योजना शाखा प्रमुख सत्यनारायण साहले ४ वर्षयता पालिकाले सम्पदा निर्माणको प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले पालिकाले ४ वर्षयता सम्पदा निर्माण क्षेत्रमा ७४.३७ प्रतिशत, भवन निर्माणमा ६७.७१ प्रतिशत, खानेपानीमा ८५.९४ प्रतिशत, ढल तथा बाटोमा ८४.४५ प्रतिशत, भूक्षय नियन्त्रण ७९.८२, पार्क तथा खेलकुदमा ८४.०७ र सडक बत्ती जडानमा शतप्रतिशत र अन्यमा ७५.११ प्रतिशत प्रगति गरेको बताए । 

 

नगरप्रमुख मदनसुन्दर श्रेष्ठले पालिकाले अन्योलमा परेका, संरक्षण हुन नसकेका सम्पदा संरक्षण र पुनर्निर्माण गर्दै आएको जानकारी दिए । उपभोक्ता समिति गठन गरी पालिकाले सम्पदा संरक्षण गर्दै आएको र बाँकी रहेका सम्पदा निर्माणका क्रममा रहेको उनले बताए ।