close

बुटवल उपमहानगर प्रमुख सुवेदीमाथि मुक्का हान्ने पंगेनी पक्राउ 

बुटवल उपमहानगर प्रमुख सुवेदीमाथि मुक्का हान्ने पंगेनी पक्राउ 

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पंगेनी पक्राउ परेका छन् । उनले सोमबार बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न ज्योतिनगर पुगेका मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

 

पंगेनीमाथि दुव्र्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ । लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत पंगेनी एमाले समर्थित अनेरास्ववियु जिल्ला कमिटी सदस्य हुन् ।

 

विद्यार्थी राजनीति गर्दै आएका उनले पहिरोले पीडित बनाउँदा स्थानीय सरकारले व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको बताएको प्रहरीले जनाएको छ ।
तिलोत्तमा नगरपालिकाले बुटवल उपमहानगर प्रमुख सुवेदीमाथि भएको घटनाको निन्दा गरेको छ । तिलोत्तका मेयर वासुदेव घिमिरेले विज्ञप्ति जारी गर्दै हातपातको प्रयास र दुव्र्यवहारप्रति दुःख व्यक्त गर्दै खेद व्यक्त गरेका हुन् ।

 

‘बुटवल उमहानगर प्रमुख सुवेदीमाथि एक युवाबाट भएको हातपातको प्रयास र दुव्र्यवहारप्रति तिलोत्तमाले दुःख व्यक्त गर्दै खेद व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।  तिलोत्तमाले घटनामा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न तथा जनप्रतिनिधिको मनोबल उच्च राख्दै सुरक्षा प्रबन्ध गर्न पनि सरकारसँग माग गरेको छ ।

 

मेयर सुवेदीमाथि भएको आक्रमणप्रति मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले ध्यानाकर्षण भएको जनाएको छ । समाजका सभापति डिपी खनाल र सचिव कपिल ज्ञवालीले विज्ञप्ति जारी गर्दै बुटवल वडा नम्बर ३ को ज्योतिनगरमा पहिरो अवलोकनका क्रममा मेयरमाथि मुक्का प्रहार हुनु निन्दनीय भएको जनाइएको छ । समाजले घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको माग गरेको छ ।  बुटवल उपमहानगरले नगरप्रमुख सुवेदीमाथि हातपात गर्ने काम निन्दनीय भएको जनाएको छ । 

 

सोमबार बिहान मेयर सुवेदीसहितको टोली ज्योतिनगर पुगेको थियो । त्यस क्रममा स्थानीय गणेश पंगेनीले मेयर सुवेदीमाथि आक्रमण गरेका थिए । बुटवल उपमहानगरले पत्रकार सम्मेलन गर्दै नगरप्रमुखमाथि भएको उक्त घटनामा संलग्न र उनलाई उक्साउनेउपर छानबिन गरी यथाशीघ्र कारबाही गर्न माग गरेको हो ।
प्रवक्ता रामप्रसाद रेग्मीले जारी गरेको विज्ञप्तिमा सोमबार बिहानदेखि परेको मुसलधारे वर्षाका कारण थप भूखलन भई क्षतिको खबर प्राप्त भएपछि मेयर सुवेदी, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतलगायत प्राविधिक टोलीसहित पहिरो स्थलमा निरीक्षण, राहत, उद्दार र व्यवस्थापनका लागि पुगेको उल्लेख छ ।ज्योतिनगरको प्रकोप नियन्त्रण र व्यवस्थापन उपमहानगरको क्षमताले मात्र हुन नसक्ने पनि प्रवक्ता रेग्मीले बताए ।

 

यस्तै, देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री, उपप्रमुख विद्यादेवी गुरुङ, सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्की, उपप्रमुख बिना रानाले विज्ञप्ति जारी गर्दै पहिरो स्थलमा निरीक्षण, राहत, उद्दार र व्यवस्थापनका लागि पुगेका मेयरमाथि नै आक्रमण हुनु निन्दनीय भएको बताएका छन् ।