close

लुम्बिनी प्रदेशमा बाँडिँदै स्मार्ट सवारी चालक अनुमतिपत्र 

लुम्बिनी प्रदेशमा बाँडिँदै स्मार्ट सवारी चालक अनुमतिपत्र 

Trulli
ADVERTISEMENT

रूपन्देही–लुम्बिनी प्रदेश सरकारले राजधानी काठमाडौंबाहिर पहिलो पटक स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ । बुटवलस्थित यातायात व्यवस्था कार्यालयमा सोमबार मुख्यमन्त्री कुलप्रसाद केसीले परीक्षणकालीन सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेका हुन् । मुख्यमन्त्री केसीले सरकारले सुरु गरेको यो पहिलो महत्त्वपूर्ण काम भएको बताए ।

 

सवारी चालक अनुमतिपत्र प्राप्त गर्न प्रदेशका नागरिकले भोग्नुपरेको समस्यालाई दृष्टिगत गरी संघको समन्वयमा प्रदेश सरकारले परीक्षणकालीन रूपमा सवारी चालक अनुमतिपत्र वितरण कार्य सुरु गरेको बताउँदै मुख्यमन्त्री केसीले एक वर्षभित्र सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएका सबैले सहज सेवा प्राप्त गर्ने व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरे ।

 

मुख्यमन्त्री केसीले प्रदेशबाट लिएको सवारी चालक अनुमतिपत्रको आधारमा विश्वका जुनसुकै देशमा पनि रोजगारी प्राप्त गर्न सक्ने व्यवस्था गर्न पहल गर्ने बताए ।उनले प्रदेशका नागरिकलाई संघीयताको अनुभूति हुने गरी सहज सेवा प्रवाह गर्न सरकारले काम गरिरहेको दाबी गरे ।

 

कार्यक्रममा श्रम, रोजगार तथा यातायात व्यवस्थामन्त्री पुर्मती ढेंगा मगरले नागरिकलाई छिटोछरितो र सहज रूपमा लाइसेन्स उपलब्ध गराउन हाललाई परीक्षणकालीन स्मार्ट लाइसेन्स वितरण थालिएकाले भविष्यमा प्रदेशबाट स्थायी स्मार्ट लाइसेन्स वितरण गर्ने व्यवस्था मिलाइने जानकारी दिइन् ।

 

लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवालले राजस्व असुलीमा महत्त्वपूर्ण योगदान रहेको यातायात क्षेत्रप्रति राज्यको ध्यान जान नसकेको भन्दै सेवा केन्द्र विस्तार गरेरै भए पनि सवारी चालक अनुमतिपत्र सहज रूपमा प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले नागरिकले संघीयता आएको महसुस गर्ने गरी सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिए ।

 

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रका कार्यालय प्रमुख तेज नारायण यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखा अधिकृतद्वय श्यामकुमार पौडेल र प्रदीप खनालले कार्यालयको सेवा प्रवाहबारे जानकारी गराए ।