close

पालिकामा दिनभरः नाका खुलाउन प्रधानमन्त्रीलाई पत्र, वालिङले चलाउँदै लोकसेवाको सत्र (भिडियो खबर)

पालिकामा दिनभरः नाका खुलाउन प्रधानमन्त्रीलाई पत्र, वालिङले चलाउँदै लोकसेवाको सत्र (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ को कार्यालयमा अज्ञात समूहको आगजनी, कार्यालयमा रहेका सामान र कागजपत्र जलेर नष्ट । 


२) झापाको भद्रपुर नगरपालिकाले भद्रपुर नाका खुलाइदिन प्रधानमन्त्री र मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठायो, नाका नखुल्दा व्यवसायी र नगरवासी समस्यामा । 

 

३) इलाम नगरपालिकामा मेडिकल कलेज स्थापना गरिने, वडा नम्बर ९ मा रहेको सार्वजनिक जग्गा जनप्रतिनिधिसहितका सरोकावालाले गरे अवलोकन । 


 ४) स्याङ्जाको वालिङ नगरपालिकाले अहेव र अनमी पदका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, इच्छुकले १२ असोजसम्म पालिकामा निवेदन दिनुपर्ने । 


५) ढुंगा, गिटी, बालुवाको कर उठाउन बार्दियाको बारबर्दिया नगरपालिकाले जारी गर्‍यो ठेक्कासम्बन्धी सूचना, ठेक्का लिन इच्छुक फर्म तथा कम्पनीले ई-बिडिङमार्फत बोलपत्र पेस गर्नुपर्ने । 


६) महोत्तरीको गौशाला नगरपालिकाद्वारा पालिकाभित्रका सहकारी संस्थालाई सूचीकृत हुन सूचना जारी, २० असोजभित्र लेखापरीक्षण प्रतिवेदन र दर्ता प्रमाणपत्र पालिकामा बुझाउनुपर्ने । 


७) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले गरे वडा नम्बर ६ मा सञ्चालन भइरहेका योजना अनुगमन, स्थानीयसँग आगामी दिनमा समावेश गर्नुपर्ने योजनाका विषयमा पनि छलफल । 


८) नवलपरासीको मध्यबिन्दु नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गर्ने, इच्छुक कृषक तथा कृषि समूहले १२ असोजभित्र पालिकामा निवेदन दिनुुपर्ने । 

 

९) गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर ८ मा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, पहिरोपीडित परिवारलाई नगरपालिकाले ३० हजार सहयोग गर्‍यो । 


१०) कोरोना महामारीका बेला पर्साको वीरगञ्ज महानगरपालिकाद्वारा स्वास्थ्यकर्मीलाई दोहोरो जोखिम भत्ता वितरण गरेको खुलासा, रकम असुल गर्न महालेखा परीक्षकको कार्यालयले पालिकालाई दियो निर्देशन । 


११) आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउँदै स्थानीय तह, खोप लगाउन पालिकाले तोके केन्द्र । 

 

१२) रूपन्देहीको बुटवल उपमहानगरले ज्योतिनगर क्षेत्रका पहिरोबाट विस्थापितलाई अस्थायी आवासका लागि घर बहाल खर्च रकम सहयोग गर्ने, वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा रकम उपलब्ध गराउने पालिकाको निर्णय । 


१३) स्याङ्जाको पुतलीबजार नगरपालिकाकोे आयोजनामा पालिकाभित्रका सहकारी संस्थाका कर्मचारीका लागि ४ दिने आधारभूत सहकारी व्यवस्थापनसम्बन्धी तालिम जारी, कार्यक्रममा २० जनाको सहभागिता । 


१४) चुनिखेल बालुवा प्रशोधन केन्द्र सञ्चालनका लागि काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले स्थानीयसँग राय सुझाव माग्न सार्वजनिक सुनुवाइ गर्‍यो,  पालिकाले अब प्रतिवेदन तयार पार्ने ।

 
१५) रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ मा रहेको शिवपुर माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला सञ्चालन, नगरप्रमुख वासुदेव घिमिरेले गरे प्रयोगशालाको उद्घाटन । 


१६) बैतडीको पाटन नगरपालिकाले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई संस्कृत विषय पढाउने, भाषागत ज्ञानको विकास गर्ने पालिकाको योजना । 


१७) ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोला उत्पादन तथा बिक्री वितरणमा कपिलवस्तु नगरपालिकाले लगायो रोक, निर्णय अटेर गर्नेलाई कारबाही गरिने । 


१८) सिन्धुलीको दुधौली नगरपालिकाले कृषि र वातावरण अधिकृत करारमा नियुक्त गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने । 


१९) पाँचथरको फालेलुङ गाउँपालिकामा कार्यरत कार्यालय सहगोगी मन्टु केरुङको निधन, केरुङको निधनको शोकमा पालिका र मातहतका कार्यालय बन्द ।

 
२०) सप्तरीको सुरुंगा नगरपालिकाले लघु उद्यम विकास सहजकर्ताको परीक्षामा सफल हुने उम्मेदवारको नतिजा प्रकाशन गर्‍यो, सफल उम्मेदवारले सात दिनभित्र पालिकामा सम्पर्क गर्नुपर्ने ।