close

खाद्य अभाव भएको दुई महिनापछि बल्ल पुग्यो कोल्टीमा चामल

खाद्य अभाव भएको दुई महिनापछि बल्ल पुग्यो कोल्टीमा चामल

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको उत्तरपूर्वी क्षेत्रमा खाद्य अभाव भएको लामो समयपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपो कार्यालय कोल्टीमा चामल पुगेको छ ।खाद्यान्न अभाव भएको करिक २ महिनापछि आइतबार डिपोमा ४ सय क्विन्टल ५० केजी चामल आइपुगेको कार्यालयले जनाएको हो । कोल्टी डिपोका लागि चामल ढुवानीको जिम्मा लिएको सुचदेवी अर्डर सप्लायर्स हुम्लाले चामल ढुवानी गरेर आइतबार कोल्टी डिपो पुर्‍याइएको हो । 

 

बाजुराको साँफे–मार्तडी सडक खण्ड पूर्ण चालू नभइसकेका कारण चामल ढुवानीमा समस्या भएकाले कालीकोट–पिलुचौर सडक खण्ड हुँदै कोल्टीमा चामल पुर्‍याइएको सुचदेवी अर्डर सप्लायर्सका सञ्चालक नन्द महताराले बताए ।


खाद्य कम्पनी र सप्लायर्सबीच कात्तिकबाट चामल ढुवानीको सम्झौता भए पनि दसैँको मुखमा खाद्य अभाव भएपछि सप्लायर्सले १ महिनाअगावै चामल ढुवानी गरेर कोल्टीमा पुर्‍याएको हो ।

 

‘सम्झौताअनुसार कात्तिकपछि चामल ढुवानी गर्ने भनिए पनि स्थानीयको सुविधाका लागि जोखिम मोलेरै दसैँअगावै चामल ढुवानी गरेका हौँ’, महताराले भने ।  कोल्टी डिपोमा चामल पुगिसकेकाले डिपो कार्यालयले तत्काल सर्वसाधारणलाई वितरण गरिने बताएको छ । साँफे–मार्तडी, कोल्टी–मार्तडी सडक खण्डबाट चामल ढुवानी गर्न समस्या भएपछि कर्णाली करिडोरबाट ढुवानी गरेर कोल्टी डिपो पुगेको कार्यालय प्रमुख नवीनप्रसाद आचार्यले जानकारी दिए ।


खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मुख्य कार्यालय राजापुर बर्दियाबाट सुर्खेत– पिलुचौर सडक खण्ड हुँदै चामल कोल्टी पुगेको कार्यालय प्रमुख आचार्यले पुष्टि गरे ।


कार्यालय प्रमुख आचार्यले मंगलबारबाट चामल बिक्री वितरण गरिने बताए । उनले भने, ‘कार्यालयमा चामल आइपुगेकाले आउँदो मंगलबारबाट खाद्यान्न लिन आउँदा नागरिकताको आधारमा एक कठ्ठासम्म बिक्री गरिनेछ ।’

 

यसअघि खाद्यान्न अभाव झेल्दै आएका स्थानीयले दसैँ, तिहारको समय चामल पाउने भएपछि राहत हुने बताए । दसैँको मुखमा बजारमा पनि चामल नपाइने र खाद्य कम्पनीमा अभाव भएपछि स्थानीय महँगोमा किन्न बाध्य थिए ।


यसअघि सिजनमा १७ सय रुपैयाँ पर्ने जिरा मसिनो चामल २ हजार ५ सय बढी तिरिरहेका थिए । साँफे–मार्तडी र कोल्टी– मार्तडी सडक खण्ड करिब ४ महिनासम्म पनि सञ्चालनमा नआउँदा बाजुरामा दैनिक उपभोग्य वस्तु अभाव चुलिएको छ ।