close

महाकाली र जोगबुडो नदी गाउँ पस्यो 

कञ्चनपुरको भीमदत्त र दोधारा चादनीका सयौँ घर डुबानमा

महाकाली र जोगबुडो नदी गाउँ पस्यो 

कञ्चनपुरको भीमदत्त र दोधारा चादनीका सयौँ घर डुबानमा

Trulli
ADVERTISEMENT

कञ्चनपुर– आइतबार रातीदेखि निरन्तर परेको वर्षाका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९, १०, ११, १२, १३ र दोधारा चादँनी नगरपालिका वडा नम्बर ८ र १० का वडा डुबानमा परेका छन् ।


२ दिनदेखि लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेसँगै महाकाली र जोगबूढा नदी गाउँ पस्न थालेपछि तटीय क्षेत्रका सयौँ घर डुबानमा परेका हुन् ।


महाकाली नदीमा बन्दै गरेको चार लेनको पुलसँग जोड्ने बाटो कालोपत्रे सडक ( भाइरल रोड ) पनि अहिले पानीले कटान गरेको छ । झोलुगें पुलनजिकै रहेको ह्युमपाइपबाट पानी ओभर फ्लो भएर गाउँ पस्न थालेको छ ।


महाकाली नदीमा पानीको बहाव बढ्दै जान थालेपछि नगरपालिकाले दमकलको सहायतामा साइरन बजाएर तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै स्थानीय मिलेर बाढी पसेको क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सारेका छन् । 


महाकालीमा आएको बाढीले ४ लेनको पुलसँग जोड्ने ६ लेनको कालोपत्रे सडक पनि भत्काएको छ भने पुल आयोजनाको अस्फाल्ट प्लान्ट एरिया र क्याम्प डुबाएको छ ।


भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमा निर्माणाधीन ४ लेन पुलको पहुँचमार्ग बगाउन थालेको छ । महाकाली नदीमा पानीको बहाव बढेसँगै ४ लेन पुलको पहुँचमार्ग बगाएको छ भने अस्फाल्ट प्लान्ट एरिया पूरै डब्दा निर्माण सामग्री र यातायातका साधनमा ठूलो क्षति पुगेको छ ।

 

गत २०७४ भदौदेखि निर्माण सुरु गरेको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनीको निर्माण अवधि १२ फागुन २०७८ सम्म तोकिएको छ ।
तर, महाकाली नदीले कालोपत्रे सडक र अस्फाल्ट प्लान्ट एरिया पूरै डुबाउँदा निर्माणमा प्रभाव पर्ने देखिएको छ । पुलको दुवैतर्फ ५ हजार ४ सय मिटर बाँध निर्माण गर्नुपर्ने योजनामा रहेको हुँदा नदीवारिपारि दुवैतर्फ २ हजार ७ सय लम्बाइको बाँध निर्माण गर्नुपर्ने ठेक्कामा उल्लेख छ ।


बाँध निर्माणका लागि १ लाख ४१ हजार घनमिटर ढुंगा आवश्यक पर्ने र ७० प्रतिशत ढुंगा २६० किलोग्रामभन्दा बढी तौल चाहिने भएकाले ढुंगा केही समयअघि महाकाली पुल योजना कार्यालयले स्थानीय तह र प्रशासनसँग समन्वय गरी महेन्द्रनगरको उत्तरमा रहेको चुरेको फेदबाट ल्याउन थालेको थियो । तर, स्थानीय उपभोक्ताको विरोधपछि त्यो रोकिएको थियो । नदीमा निर्माणाधीन पुलको तटबन्ध बनाउने काम ढुंगा नपाउँदा तटबन्ध निर्माण रोकिएको छ ।

 

ठेकेदारले नदीमा ढुंगा नपाउँदा ठेक्काअनुसारको बाँध निर्माण गर्न सकेको छैन । सोही कारण निर्माण कम्पनीले पुलसँगै जोडिने कालोपत्रे सडक निर्माण गरे पनि महाकाली नदीले बगाएर लगेको छ । 

 

महाकालीमा मंगलबारको पानीको बहावले ९२ वर्षयताकै रेकर्ड तोड्यो

 

आइतबारदेखि सुदूरपश्चिममा परेको अविरल वर्षाले उर्लिएको महाकाली नदीको पानीको बहावले अहिलेसम्मकै रेकर्ड तोडेको छ । मंगलबार दिउँसो २ बजे महाकाली नदीमा पानीको बहाव मापन गर्दा ५ लाख ४७ हजार २ सय २४ क्युसेक पानी पुगेको थियो, जुन अहिलेसम्मकै उच्च हो ।


सन् २०१३ मा ५ लाख ४४ हजार ४ सय ७६ क्युसेक पानी मापन गरिएको थियो, जसको रेकर्ड मंगलबार महाकालीमा आएको बाढीले तोडेको छ । नदीमा पानीको बहाव उच्च भएपछि पुलमा पैदल आवागमनसमेत बन्द गरिएको छ ।