close

राष्ट्रपति भण्डारीले गरिन् नवदुर्गा मन्दिर दर्शन

राष्ट्रपति भण्डारीले गरिन् नवदुर्गा मन्दिर दर्शन

Trulli
ADVERTISEMENT

भक्तपुर- कोजागत पूर्णिमाको दिन । दिउँसोको साढे ३ बजे । भक्तपुरका सुरक्षाकर्मीलाई नवदुर्गा द्योछेँमा सुरक्षा दिन भ्याई–नभ्याई हुने गर्छ । कोही सुरक्षाका लागि ओहोरदोहोर गरिरहेका हुन्छन् भने कोही आदेश दिँदै गरेका भेटिन्छन् । केही स्थानीय सुरक्षाकर्मीको क्रियाकलापलाई नजिकैबाट नियालिरहेका हुन्छन् । तर, सबैको प्रतीक्षा राष्ट्रपति विद्यादेवी भण्डारीको थियो । 

 

भक्तपुरको नवदुर्गा द्योछेँ अगाडि प्रत्येक वर्षझँै यो वर्ष पनि कोजागत पूर्णिमा दिन राष्ट्रपति भण्डारी प्रसाद ग्रहणका लागि नवदुर्गा मन्दिर पुगेकी छन् । स्व. राजा वीरेन्द्रको पालादेखि देशका राष्ट्रप्रमुखले नवदुर्गा मन्दिरमा प्रसाद ग्रहण गर्ने परम्परा छ । यो परम्पराले यस वर्ष पनि निरन्तरता पाएको हो । ‘पहिले राजा आउँथे । तर, गणतन्त्र स्थापनासँगै राष्ट्रपति आउने परम्परा छ,’ एक स्थानीयले भने, ‘राजा आउँदा सबैलाई सम्बोधन गरी जानुहुन्थ्यो । तर, राष्ट्रपतिले त्यस्तो गर्नुहुन्न । आउनुहुन्छ, जानुहुन्छ ।’

 

उनले विगतका वर्ष राष्ट्रप्रमुख आउँदा द्योँछे अगाडि पाइला टेक्ने मुस्किल हुने स्मरण गर्दै यो वर्ष दर्शक संख्या निकै कम भएको सुनाए । ‘सधैँका वर्षमा पूर्ण चित्रकार पनि सहभागी हुन्थे । यो वर्ष आएनन् । सायद सरकारी स्तरबाट कुनै निम्तो नपाएकाले होला,’ उनले भने । 

 

प्रत्येक वर्ष राष्ट्रप्रमुख नवदुर्गामा प्रसाद ग्रहण गर्न आए पनि कुनै केही सहयोग नआएको गुनासो वनमाला समुदायको छ । दुई वर्ष पहिले दर्शनपछि देवगणलाई दक्षिणा दिने क्रममा २०७६ मा राष्ट्रपतिद्वारा भक्तपुर जिल्ला समन्वय समितिकोे प्रांगणमा विशेष पूजा गरेको खर्च अहिलेसम्म उपलब्ध नगराइएको बालकृष्ण वनमालाले बताए । 


उनले सो पूजामा १ लाख ३४ हजार रुपैयाँ खर्च भएको बताउँदै ८५ हजार पाइसकेको र बाँकी पैसा अहिलेसम्म नदिइएकाले उपलब्ध गराइदिन राष्ट्रपतिसमक्ष आग्रह गरे । ‘उहाँलाई अनुरोध गर्दा सांसद महेश बस्नेतको जिम्मा दिनुभएको छ । बस्नेतले पनि हुन्छ भनेका छन्,’ उनले भने, ‘अब के गर्छन्, आश्वासन मात्रै हो कि ?’

 

पूजाको सम्पूर्ण खर्च सूर्यविनायक नगरपालिकाले उपलब्ध गराइने भनेकामा ८५ हजार पाइसकेको र बाँकी रकम उपलब्ध गराइदिन प्रमुख जिल्ला अधिकारीको कार्यालयमा निवेदन दिइए पनि सम्बन्धित निकायबाट कुनै सुनुवाइ नभएको नवदुर्गा देवगणका अध्यक्ष व्रिजेश वनमालाले बताए ।


वनमालाले नवदुर्गा नाचका लागि १९ जना देवगण र पुजारीसहित २५ जनाको टोली आवश्यक पर्ने सुनाए । २५ जनालाई प्रतिव्यक्ति १ हजार ५ रुपैयाँको दरले राष्ट्रपतिले दक्षिणा दिएको उनको भनाइ छ । बालकृष्णले प्रत्येक वर्ष ९ महिना नाच र बाँकी समय नाचको तालिममा बित्ने भएकाले देवगण बन्नेले पढ्न नपाएको गुनासो गरे ।


औपचारिक शिक्षा नपाए पनि अनौपचारिक शिक्षाको व्यवस्था गर्न सम्बन्धित निकायसमक्ष माग गरेका सुनुवाइ नभएको उनको गुनासो छ । ‘जात्रा सञ्चालनका लागि हामीसँग आवश्यक रकम छैन । मागेरै संकलन भएको पैसाबाट जात्रा सञ्चालन भइरहेको छ,’ उनले भने, ‘गुठी संस्थानले वार्षिक ९६ हजार संहयोग गर्छ । त्यसमध्ये मुकुट बनाउने पूर्ण चित्रकारलाई ४० हजार बाँकी ५६ हजार रुपैयाँ हाम्रा लागि हुन्छ । त्यो पनि सुँगुर किन्नका लागि मात्रै हो ।’

 

आर्थिक सहयोगका लागि पटक–पटक सम्बन्धित निकायमा माग गरे पनि गुठी जग्गा छ भनेर फर्काइने गरेको उनले बताए । तर, गुठी जग्गा २०२९ को भूमि व्यवस्थाअनुसार मोहीले आफ्नो बनाइसकेका छन् । उनले थपे, ‘अहिले मालपोतको तिरो पनि गुठी संस्थानलाई तिर्दै आएका छन् ।’


धेरै पहिलेदेखि देवगण बन्दै आएका व्यक्तिलाई सम्मान नभएको गुनासो उनको छ । स्थानीय तहबाट सम्मान गरिए पनि त्यो अपुग रहेको उनले बताए । तत्कालीन समय जात्रा सञ्चालनका लागि १३ समुदायको सहभागिता रहे पनि हाल ८ समुदाय मात्र सहभागी भएका छन् । बाँकी पाँच समुदाय आर्थिक अभावका कारण विस्थापित भएको उनीहरूले बताए ।