close

बाढीपहिरोमा परी ज्यान गुमाएकाको पोष्टमार्टमबिनै गरियो दाहसंस्कार

बाढीपहिरोमा परी ज्यान गुमाएकाको पोष्टमार्टमबिनै गरियो दाहसंस्कार

Trulli
ADVERTISEMENT

पाँचथर– बेमौसमी अवबरल वर्षासँगै आएको बाढीपहिरोका कारण मृत्यु भएकाको पोस्टमार्टमबिनै दाहसंस्कार गरिएको छ । बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्बन्धित वडा अध्यक्षको रोहवरमा मुचुल्का उठाई दाहसंस्कार गर्ने÷गराउने निर्णय गरेपछि मृतकको अन्त्येष्टि गरिएको हो ।


भौगोलिक विकटता एवं घटनास्थलबाट सदरमुकाम जोड्ने सडक क्षतविक्षत भएकाले शवलाई पोस्टमार्टमका लागि सदरमुकाम ल्याउन–लैजान सम्भव नहुने भन्दै वडाध्यक्षको रोहवरमा मुचुल्का उठाई दाहसंस्कार गर्न भनिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समिति संयोजक पुण्यप्रसाद ढकालले जानकारी दिए ।


मृत शरीर कुहिएर अन्य रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राखी ‘शंकास्पद स्थितिमा मृत्यु भएको देखिन नआई विपद् प्रकोप (बाढीपहिरो) कै कारणबाट मृत्यु भएको प्रस्ट यकिन भएको’ अवस्थामा सम्बन्धित स्थानीय तहकै वडाध्यक्षको रोहवरमा मुचुल्का उठाई सदगतका लागि परिवारलाई लाश जिम्मा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ढकालको भनाइ छ । समितिको यो निर्णयसँगै बाढीपहिरोमा परेर ज्यान गुमाएकाको दाहसंस्कार गर्न थालिएको छ । 

 

२८ जनाको प्रहरीद्वारा सनाखत

 

जिल्लामा बाढीपहिरोका कारण ज्यान गुमाएका २८ जनाको प्रहरीले सनाखत गरेको छ । ज्यान गुमाउनेमा सबैभन्दा धेरै दक्षिणी पाँचथरको मिक्लाजुङ गाउँपालिकाका छन् ।


मिक्लाजुङ गाउँपालिकाका २२, फाल्गुनन्द गाउँपालिकाका ३, फिदिम नगरपालिकाका २ र कुम्मायक गाउँपालिकाका १ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । बाँकी ६ जना अझै बेपत्ता छन् । उनीहरूको खोजी जारी रहेको प्रहरी निरिक्षक विश्वकर्माले बताए । 

 

उद्दार र राहतलाई प्रभावकारी बनाइने 


जिल्ला विपद् व्यवस्थापन समितिले पीडित परिवारको उद्दार र राहत वितरणलाई प्रभावकारी बनाइने जनाएको छ । १, २ र ३ कात्तिकमा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण जिल्लामा ठूलो धनजनको क्षति भएकाले जिल्ला समिति सक्रिय भई तत्काल उद्दार र राहतको कामलाई अगाडि बढाउने निर्णय भएको बैठकमा सहभागी पत्रकार महासंघ पाँचथर शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले बताए ।