close

बाढीमा बगेर बेपत्ता युवकको शव ९ दिनपछि भारतमा भेटियो

बाढीमा बगेर बेपत्ता युवकको शव ९ दिनपछि भारतमा भेटियो

Trulli
ADVERTISEMENT

सप्तरी– सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ बैरियाघाटस्थित बाढीले कटान गरेको सडक तर्ने क्रममा बेपत्ता भएका युवकको शव भारतमा फेला परेको छ ।

 

वर्षासँगै जिता खोलामा आएको बाढीले दसजग्गा क्षेत्रमा रहेको सो सडक कटान भएको थियो । गत बुधबार बाढी तर्ने क्रममा सोही नगरपालिका वडा नम्बर ९ का २३ वर्षीय लालु भन्ने जितेन्द्र मण्डल बेपत्ता भएका थिए ।

 

९ दिनपछि बिहीबार बिहान उनको शव भारतको कुनौलीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

 

‘युवक बेपत्ता भएसँगै हामीले खोजी जारी राखेका थियौँ भने बगेर भारततर्फ पुगेको हुन सक्ने आशंकाले उताका सुरक्षाकर्मीलाई पनि खोजीका लागि आग्रह गरेका थियौँ,’ उनले भने, ‘सोही क्रममा उनको शव फेला परेको हो ।’


शव नेपाल ल्याउन समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।